
द्रुत मार्ग बन्द गर्न भन्दै विप्लव माओवादीको बिरोध प्रदर्शन
काठमाडौं–तराई जोड्ने द्रुत मार्ग तत्काल बन्द गर्न माग गर्दै विप्लव माओवादीले आज बिरोध प्रदर्शन गरेको छ । भारतीय कम्पनीलाई दु्रत मार्ग बनाउन दिएको जिम्मा खारेज गरेर राज्यले नै आफ्नै लगानीमा बनाउनुपर्ने भन्दै उसले आज राजधानीमा बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा विप्लव माओवादीका नेताहरुले द्रुत मार्ग सम्झौता जारी राखे कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । उनीहरुले उक्त सडक निर्माण भएपछि त्यहां चल्ने सवारी साधनहरुले चर्को सडक कर तिर्नुपर्ने र गाडीभाडाभन्दा त्यो कर दशौं गुणा बढी हुने भएकाले जनताको पक्षमा नभएको बताए । करबाट अपुग रकम सरकारले भारतीय नीजि कम्पनिलाई क्षतिपूर्ति तिर्नुपर्ने भएकाले राज्यकोषको दुरुपयोग हुने विप्लव माओवादीको भनाई छ ।
द्रुत मार्ग निर्माणका लागी नेपाल सरकार र भारतीय आइएल एण्ड एफएसबीच डिपिआर बनाउने सम्झौता भएको थियो । एसियाली विकास बैंकले गरेको अध्ययनले ७६ किलोमिटर लामो द्रुत मार्ग निर्माणमा एक खर्ब ३० अर्ब रुपैया लाग्ने देखाएको छ । सबै जोखिम राज्यले बेहोरेर नाफा मात्र व्यवसायीलाई दिने यो सम्झौता कुनैपनि हालतमा देशको हितमा नभएकोले बन्द गर्नुपर्ने विप्लव माओवादीका नेताहरु बताउँछन् ।सरकारले बन्द नगरे आफ्नो पार्टीले कडा संर्घष गर्ने भन्दै द्रुत मार्ग निर्माण कार्यमा अवरोध पुर्याउने विप्लव माओवादीले चेतावनी दिएको छ ।
