मानव विकास सूचकांकमा नेपाल १ सय ४६ औं स्थानमा
काठमाडौै, ३० चैेत ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको मानव विकास सूचकांकमा नेपाल अघिल्लो वर्षको तुलनामा एक स्थान तल खस्किएको छ । अघिल्लो वर्ष १ सय ४५ औं स्थानमा रहेको नेपाल यो वर्ष शून्य दशमलव ५४८ अंकसहित १ सय ४६ औं स्थानमा पुगेको छ । नेपाल दक्षिण एसियामा भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशभन्दा पछि तथा पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि छ ।
नेपालमा भ्रष्टाचार झन् बढ्यो
यो वर्ष नेपाल बढी भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा गत वर्षभन्दा २ अंक कम पाएर थप ४ स्थान माथि उक्लिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणात्मक सूचकांक (करप्सन पर्सप्सन इन्डेक्स सीपीआई) अनुसार गत वर्ष २९ अंक पाएको नेपाल यो वर्ष २७ अंकमा सीमित भएको छ । सन् २०१४ मा १ सय ७५ मुलुकमध्ये १ सय २६ औं स्थानमा रहेको नेपाल सन् २०१५ मा १ सय ६८ मुलुकमध्ये १ सय ३० औं स्थानमा थियो ।
कमजोर आर्थिक वृद्धिदर
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दक्षिण एसियामै सबैभन्दा कमजोर १ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । यद्यपि सोही प्रतिवेदनले सन् २०१७ मा भने नेपालको आर्थिक वृद्धि सन्तोषप्रद हुने प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ५ दशमलव ८ तथा २०१८ मा ४ दशमलव ५ प्रतिशत हुनेछ ।
लक्ष्य हासिल भएन
‘सबैका लागि शिक्षा’ सम्बन्धी अन्तर्राष्ट्रिय लक्ष्यमा अपेक्षित उपलब्धि हासिल नगर्ने मुलुकमा नेपाल पनि परेको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले जारी गरेको प्रतिवेदनअनुसार विश्वका करिब ६० मुलुकको साक्षरता प्रतिशत अझै पनि ९५ भन्दा कम छ । प्रतिवेदनमा नेपालका पाठ्यपुस्तकहरूमा महिलाहरूलाई केवल घरायसी भूमिकाका रूपमा मात्र प्रस्तुत गरिएको कुरा उल्लेख छ । प्रतिवेदनले पाठ्यपुस्तकमा बालिकाहरूको विशेषतालाई बारम्बार दोस्रो भूमिकाका रूपमा मात्र उल्लेख गरिएकाले उनीहरूले भविष्यमा रोजगारी प्राप्त गर्नसमेत असर पुग्ने बताएको छ । गरिब देशमा लैंगिक असमानता र गरिबी एक–अर्कामा सम्बन्धित विषय भएको भन्दै प्रतिवेदनले पुरुषहरूको तुलनामा महिलाको अवस्था अझ गम्भीर रहेको जनाएको छ ।
असुरक्षित विमानसेवा
नेपालका सबै विमानसेवा विश्वको सबैभन्दा असुरक्षित विमानसेवामा परेका छन् । एयरलाइन्स रेटिङ डटकमलाई उद्धृत गर्दै सीएनएनले नेपालका सबै वायुसेवाले एक वा शून्य स्टारको रेटिङ पाएको जनाएको छ । एयरलाइन्स रेटिङ डटकमले बर्सेनि सुरक्षित र असुरक्षित विमानसेवा घोषणा गर्ने गरेको छ । यो वर्ष नेपालका सबै विमानसेवा शून्य वा एउटा स्टार पाउँदै विश्वको असुरक्षित वायुसेवामा दरिएका छन् । एक स्टार पाउनेमा १० वटा विमानसेवा मात्र छन्, जसमा नेपाल, इन्डोनेसिया तथा सुरिनामका विमानसेवाहरू छन् ।
नेपाली कति खुसी छन् र ?
विश्वका सबैभन्दा खुसी राष्ट्रमा डेनमार्कले बाजी मारेको छ । विश्व हेप्पीनेस रिपोर्टका अनुसार सबैभन्दा खुसी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा छ भने स्विट्जरल्यान्ड दोस्रो र आइल्यान्ड तेस्रो स्थानमा छन् । १ सय ५६ देशमा गरिएको सर्वेक्षणका आधारमा उक्त सूची तयार पारिएको हो । यो सुचीमा नेपाल १ सय ७ औ स्थानमा छ ।
दक्षिण एसियाकै गरिब
विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलुक हुन पुगेको छ । विश्व बैंकको प्रतिवेदनअनुसार अफगानिस्तानबाहेक सात मुलुकको तथ्यांकका आधारमा नेपाललाई तेस्रो गरिब मुलुकमा राखिएको हो । प्रतिवेदनअनुसार क्रयशक्तिका आधारमा चार नेपालीमध्ये करिब एक जना अर्थात् २३ दशमलव ७ प्रतिशतले दैनिक १ दशमलव २५ अमेरिकी डलरभन्दा कम कमाउँछन् । मानक अनुसार यो चरम गरिबी हो । नेपालको आधा जनसंख्या ९५६ प्रतिशत दैनिक २ अमेरिकी डलरभन्दा कम कमाइ हुने अर्थात गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपालको जनसंख्या
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो, जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला तथा पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । असार २६ गते विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले आफ्नो तथ्यांक सार्वजनिक गरेको थियो ।
कति महँगो काठमाडौं ?
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको अनुसन्धानअनुसार विश्वको सबैभन्दा महँगो सहरको सूचीमा काठमाडौं १ सय २५ औं स्थानमा छ । विश्वका १ सय ३३ सहरलाई आधार मानेर गरिएको उक्त अनुसन्धानअनुसार सिंगापुर सबैभन्दा महँगो सहर हो ।
घुम्नैपर्ने काठमाडौं
अनलाइन ट्रिप एड्भाइजर डडकमले सन् २०१६ मा काठमाडौंलाई घुम्नैपर्ने सहरको सूचीमा २३ औं स्थान दिएको छ । यसैगरी ट्राभलसम्बन्धी अमेरिकी वेबसाइड रफगाइड्सले सन् २०१६ मा घुम्नैपर्ने १० देशको सूचीमा नेपाललाई पहिलो स्थानमा राखेको छ । बेलायतको एक प्रकाशक कम्पनीले पनि नेपाललाई विश्वका भ्रमणयोग्य मुलुकहरूमध्ये पहिलो स्थान दिएको छ । यसैगरी नेसलनल जियोग्राफिक ट्राभलरले पनि सन् २०१६ मा घुम्न छुटाउनै नहुने १८ वटा ‘कुल’ गन्तव्यको सूची सार्वजनिक गर्दै नेपाललाई छैटौं नम्बरमा राखेको छ भने फोब्र्स पत्रिकाले सन् २०१६ मा गर्नुपर्ने उत्कृष्ट स्काइडाइभका लागि सगरमाथालाई छनौट गरेको छ ।
काठमाडौं कति प्रदूषित ?
विश्वको सबैभन्दा प्रदूषित सहरमध्येको बेइजिङलाई पछि पार्दै काठमाडौं तेस्रो नम्बरमा पुगेको छ । हालै मात्र विश्व प्रदूषण सूचकांकमा प्रकाशित भएसँगै काठमाडौंले बेइजिङलाई पछि पार्दै नेपाल विश्वकै तेस्रो र एसियाको पहिलो प्रदूषित सहर बनेको छ । अध्ययनका अनुसार काठमाडौंमा वायु प्रदूषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुँदा प्रदूषण निकै उच्चबिन्दुमा छ भने पिउने पानीमा हुने प्रदूषण पनि उच्चविन्दुमा छ ।
मानव तस्करी र बाध्यात्मक श्रम
अमेरिकाले साउन ११ गते सार्वजनिक गरेको ‘ट्राफिक इन पर्सनस्–२०१५’ प्रतिवेदनअनुसार बाध्यात्मक श्रम तथा यौन व्यापार र मानव तस्करीका लागि नेपाल मुख्य गन्तव्य बनेको छ । प्रतिवेदनले नेपाली महिलाहरू मानव तस्करीको मुख्य विषय बनेको उल्लेख गरेको छ । प्रतिवेदनले नेपाली महिला, बालबालिका तथा युवाहरूले नेपालसहित, भारत, मध्यपूर्व एसिया एवं अमेरिकी मुलुकका विभिन्न कम्पनी, उद्योगका साथै घरेलु कामदार, मगन्ते तथा मनोरञ्जन उद्योगमा बाध्यात्मक श्रम गरिरहेको बताएको छ ।
–साभार साप्ताहीकबाट