कांग्रेस संसदीय दलको विधान संशोधन
काठमाडौं,२२ चैत।
नेपाली कांग्रेसको संसदीय दलले दलको विधान संशोधन गरेको छ । कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले नयाँ संविधान अनुसार पार्टीको विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रस्तावलाई आज सोमबार दिउँसो बस्ने केन्द्रीय कार्यसमितीको बैठकले अनुमोदन गर्ने कांग्रेस नेता रामकृष्ण यादवले जानकारी दिनुभयो । विधान संशोधनसँगै अब कांग्रेसको संसदीय दलको कार्यसमितिको संरचना पनि बदलिने भएको छ ।
नयाँ विधान अनुसार १५ जना निर्वाचित सदस्य, ७ वटा प्रदेशबाट ७ जना तथा संसदीय दलको नेताले ९ जना सदस्य चयन गर्नेछन् । यसअघि ५ विकास क्षेत्रबाट ५ जना र संसदीय दलको नेताले ६ जना चयन गर्ने व्यवस्था थियो । यस्तै विधान संशोधन गरेर संविधानमा व्यवस्था भएअनुसार क्लष्टरको संख्या पनि ९ बाट बढाएर १७ पुर्याएको छ ।