रूसमा मृत्यु भएका नागरिकका परिवारलाई क्षतिपूर्ति पठाउन रूस तयार

मूलखबर संवाददाता
काठमाडौं, ३ फागुन

अन्ततः रूसमा ज्यान गुमाउने नेपालीका परिवारले क्षतिपूर्ति नेपालमै पाउने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती भएर मृत्यु भएका नागरिककाे परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रूससँग गरेको पहलले सार्थकता पाएकाे छ।

युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएसँगै परिवारले नेपालमै क्षतिपूर्ति पाउने भएका हुन् ।  रुसले यसका लागि मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई क्षतिपूर्ति रकम पठाउने जनाएको हो । त्यसअघि भने क्षतिपूर्ति रकम दाबी गर्न सम्बन्धित परिवार नै मस्को आउनुपर्ने रुसको सर्त थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले रुस लचिलो हुँदै क्षतिपूर्ति रकम नेपाल पठाउन सहमत भएको कान्तिपुरलाई बताए । ‘नेपाल सरकारले रुसस्थित दूतावासमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराउन रुससँग प्रस्ताव राखेको थियो, जसमा रुसले सहमति जनाएको छ,’ उनले भने, ‘यसले कम्तीमा मृतकका परिवार नै क्षतिपूर्तिका लागि मस्को धाउनुपर्ने समस्या हटेको छ ।’ अब रुसले मस्कोस्थित दूतावासलाई क्षतिपूर्ति रकम दिने र उक्त रकम परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित परिवारका सदस्यले पाउने बताए । गैरकानुनी रूपमा भर्ती भएका नेपालीलाई फर्काउनेबारे भने अझै कुरा अघि बढ्न नसकेको उल्लेख गर्दै प्रवक्ता राईले क्षतिपूर्ति रकम पठाउने सम्बन्धमा मात्र रुसले सहमति जनाएको बताए ।

यसबारेमा मुलखबरले यसअघि पहिलोपटक समाचार प्रकाशन गरेको थियाे ।

प्रचण्ड सरकारको सफल कूटनीतिः नेपालीलाई क्षतिपुर्ति दिन रुस सरकार तयार

नेपालले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाउन र युद्धमा मारिएका नेपालीका परिवारलाई उचित क्षतिपूर्ति दिन कूटनीतिक नोट पठाएको थियो ।

रुस–युक्रेन युद्धमा मारिएका नेपालीको यकिन तथ्यांक हालसम्म रुस वा नेपाल सरकारबाट सार्वजनिक गरिएको छैन ।

विभागमा एक सय ४० जनाका पीडित परिवारले आवेदन दिइसकेका छन् । परराष्ट्र मन्त्रालयले गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको पुष्टि गरिसकेको छ । लमजुङका साजन गुरूङकाे मृत्यु  भएको समाचार सञ्चारमाध्यमबाट सुनेका परिवरले अझैसम्म सरकारका तर्फबाट आधिकारिक जानकारी पाउन सकेका छैनन् । उनका बुबा श्रीमान गुरूङले काउन्सिल अफिसमा निवेदन दिँदै यथार्थ खबर उपलव्ध गराइदिन आग्रह गरेका बताएका छन् ।   उनीहरूका परिवार कसैले पनि रुसी सेनाको नियमअनुसार क्षतिपूर्ति पाएका छैनन् । कतिपयका परिवारले काजकिरियासमेत गरिसक्दा पनि रुसी सरकारले भने अझसम्म मृत्यु प्रमाणपत्र जारी नगरेको खबर कान्तिपुरमा छ ।