प्रचण्ड सरकारको सफल कूटनीतिः नेपालीलाई क्षतिपुर्ति दिन रुस सरकार तयार

मूलखबर संवाददाता
काठमाडौं

आइतबार युगाण्डाबाट फर्किने क्रममा विमानस्थलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीबारे संक्षिप्त कुरा गरेका थिए।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले रुसी सेनामा भर्ती भएकाहरूलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरेको मात्र बताए।

तर प्रचण्डले सार्वजनिक रूपमा नभने पनि सरकारले रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएमा त्यसको क्षतिपुर्ती दिन रुस सरकारलाई मनाएको छ।

रूसी सेनामा भर्ती भई मारिएका नेपालीको परिवारले क्षतिपूर्ति बापत कम्तिमा ७५ लाख रुपैयाँ दिन रूस सहमत भएको स्रोतले मूलखबरलाई जानकारी दिएको छ।

“रूसले आफ्नो कानूनअनुसार सेनामा भर्ती भई युद्धका क्रममा मारिएका नेपालीका परिवारलाई ५० लाख रुबल (७५ लाख १६ हजार ३६७ रुपैयाँ) उपलब्ध गराउने जनाएको छ,” मस्कोस्थित नेपाली दूतावास स्रोतले मूलखबरलाई भन्यो, “अब क्षतिपूर्ति रकम भुक्तानीको प्रक्रिया टुङ्ग्याउन बाँकी छ ।”

रूसले हालसम्म आफ्नो सेनामा भर्ती भएका १० जना नेपालीको युक्रेनसँगको युद्धको क्रममा मारिएको जानकारी औपचारिकरूपमा नेपाल सरकारलाई गराएको छ । यसबाहेक थप तीनजना रूसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर उनीहरूका आफन्तले अनौपचारिक माध्यमबाट प्राप्त गरेका छन् ।

नेपाली दूतावास र रूसी अधिकारीबीच अहिले क्षतिपूर्ति रकम नेपालमा रहेका परिवारलाई कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल भइरहेको छ । प्रक्रिया टुङ्गो लागिसकेको छैन । रुसले आफैँले नेपालमा क्षतिपूर्ति रकम पठाउन नसक्ने बताएको छ । मृतकका परिवारको एकजना सदस्य मस्को आई क्षतिपूर्ति रकम बुझ्नुपर्छ भन्ने रूसी अडान छ।

नेपालले भने अन्य देशले जसरी नै क्षतिपूर्ति रकम रूस सरकारमार्फत नेपाल पठाइदिन अनुरोध गरेको थियो । पछिल्ला दिन नेपालले काठमाडौंस्थित रूसी दूतावासमार्फत पीडित परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइदिन वैकल्पिक प्रस्ताव समेत गरेको छ ।

प्रति पीडित परिवार ५० लाख रुबल रुस सरकारले उपलब्ध गराउने रकम हो । नेपाली युवालाई रूसी सेनामा भर्ती हुन नेपालको कानुनले दिँदैन । तर पछिल्ला महिनाहरुमा ठूलो संख्यामा नेपाली रूसी सेनामा भर्ती भएको पाइएको छ ।

रूसी सेनामा भर्तीका नेपाली युवा युद्धमा मारिएको खबर आउन थालेपछि नेपालले रूसलाई नेपालीलाई भर्ती नलिन, भर्ती भइसकेकाहरूको विवरण उपलब्ध गराउन, भर्ती भएकालाई फिर्ता पठाउन, मृत्यु भएकाको शव नेपाल पठाउन र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन आग्रह गर्दै आएको छ ।

रूसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने जानकारी रूसले हालसम्म नेपाललाई उपलब्ध गरेको छैन । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२३ मा मात्र एक हजार ७९७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रूस गएका थिए ।

रूसी सेनामा भर्ती हुन जाने अधिकांश नेपाली भिजिट भिसामा जाने गरेको रूस पुगी सेनामा भर्ती हुनेहरूले बताइरहेका छन् । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८६ जना नेपाली भिजिट भिसामा रूस गएको अध्यागमनको तथ्याङ्कले देखाउँछ । योभन्दा ठूलो संख्या भारतको बाटो हुँदै जाने नेपालीको छ ।

रूसी पक्षले मृतकका परिवारलाई त्यहाँको कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको परारष्ट्रमन्त्रालयले पनि बताएको छ।

प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रूसी सेनामा भर्ती हुन नजान अनुरोध गरेका छन्। रूसी सेनामा भर्ती हुन जाने काम राज्यको नीति र संविधानको विरुद्ध हुने भन्दै यसबारे जनचेतना जगाउन पनि प्रधानमन्त्रीको आग्रह छ।