
संसार युक्रेनबाट दिक्क भइसकेको छ
एन्ड्रयु मित्रोभिका
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई अहिले सबैले बिर्सेका छन्। उनी सबैले बिर्सेको युद्ध लडिरहेका छन्।
रुसको आक्रमण लम्बिएर दुई वर्ष पूरा हुन लाग्दा जेलेन्स्कीको भाग्यले आफ्नो ज्यादाजसो उचाइ र चमक दुवै गुमाइसकेको छ।
युद्ध गतिरोधमा बदलिएको छ। युक्रेनी ‘प्रत्याक्रमण’ यसै सेलाएको छ। ‘सफलता’ भ्रम बनेको छ। घातक हानाहान नियमित चलिरहेको छ। आक्रोशको स्थान वैराग्यले लिएको छ। ‘जित’ सोच्न सकिने ठाउँभन्दा टाढा छ।
यस्तो लाग्छ, संसार युक्रेनबाट दिक्क भइसकेको छ।
त्यसैले, जजसले जेलेन्स्कीको साहस र युक्रेनको प्रतिरोधको चर्को आवाजमा प्रशंसा गरेका थिए, तिनले धेरै हदसम्म यी दुवैलाई त्यागिदिएका छन्।
अमेरिका वा अन्यत्रका संसदमा सम्बोधनका लागि निम्ता पनि आउन छाडेका छन्, जहाँ खाकी टिसर्टमा उभिएका जेलेन्स्कीलाई जण्ड योद्धा र मुक्तिदाताको रुपमा सम्मान गरिन्थ्यो।
युक्रेनको ‘बहादुरीपूर्ण’ र ‘न्यायपूर्ण’ लडाइँमा ऐक्यबद्धता जनाउँदै हुने प्रदर्शनहरू गायब भएको महिनौँ भइसक्यो।
अब युक्रेन अत्यावश्यक र सहानुभूति बटुल्ने ‘खबर’ रहेन।
पछिल्लो समय जेलेन्स्की र युक्रेनसम्बन्धी खबर नराम्रा मात्रै छन्। त्यसमा केही हदसम्म ह्वाइट हाउस पनि जिम्मेवार छ।
‘चुहिएको युक्रेनसम्बन्धी अमेरिकी रणनीतिले भ्रष्टाचारलाई मुख्य खतरा मानेको छ,’ लोकप्रिय अनलाइन पोर्टल पोलिटिकोको शीर्षक भन्छ। सो स्टोरीको पहिलो वाक्यले पनि युक्रेनप्रति राष्ट्रपति जो बाइडेनको दृढ समर्थन कमजोर हुन थालेको संकेत गर्छ।
‘बाइडेन प्रशासनका अधिकारीहरू युक्रेनमा भ्रष्टाचारका विषयमा सार्वजनिक रुपले स्वीकार गरेभन्दा धेरै चिन्तित छन्,’ पोलिटिकोले लेखेको छ, ‘भ्रष्टाचारका कारण पश्चिमा सहयोगीहरूले युक्रेनको साथ छाड्न सक्छन्।’
यो जेलेन्स्कीका लागि निकै ठूलो समस्या हो।
सम्भवतः जेलेन्स्कीलाई थाहा छ, समय र परिस्थिति उनको पक्षमा छैन। चाँडै नै युरोप र अमेरिकाका उनका अवसरवादी मित्रहरूको उनीप्रतिको रुचि हराउनेछ। उनीहरूको ‘फलामे दृढइच्छा’ विस्तारैविस्तारै समाप्त हुँदैछ।
जब ‘इच्छा’ हराउँछ, तब पैसा पनि सुक्छ।
र, भ्लादिमिर पुटिनको धैर्य र साम्राज्यवादी योजनालाई तोड्न जेलेन्स्कीलाई धेरै पैसा चाहिन्छ। अनगिन्ती अर्ब डलर पहिल्यै खर्च भइसकेको छ। अमेरिकी संसद् र ईयूले युक्रेनको खजानाको रुपमा काम गर्ने सम्भावना कम हुँदै गएको छ।
कतिसम्म भने ह्वाइट हाउसका एक अधिकारीले संसदलाई लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छुः कंग्रेसले कदम नचाले यो वर्षको अन्तसम्ममा युक्रेनका लागि थप हतियार र उपकरण किन्ने र अमेरिकी भण्डारबाट ती सामग्री उपलब्ध गराउने स्रोत समाप्त हुनेछ। हामीसँग भएको पैसा सकिइसकेको छ, समय पनि समाप्त हुन लागेको छ।’
तर, यो हारगुहारले पनि अमेरिकी र युरोपेली सांसदहरूलाई पैसा निकाल्नका लागि मनाउन सकेको छैन। जुन युद्ध हिउँदको दलदलमा फस्न पुगेको छ।
अझै पनि युक्रेनको मौखिक संकल्प कायम छ। युक्रेनी विदेशमन्त्रीले हालै ब्रसेल्समा भेला भएका कूटनीतिज्ञहरूलाई पछि नहट्ने आश्वासन दिए।
‘हामी अघि बढ्नै पर्ने छ, हामीले लडाइँ जारी राख्नैपर्ने छ,’ विदेशमन्त्री दिमित्री कुलेबाले भने, ‘युक्रेन पछि हट्नेवाला छैन। यहाँ सवाल युक्रेनको सुरक्षाको होइन, सवाल सम्पूर्ण युरो–एटलान्टिक क्षेत्रको हो।’
तर, उनको पुकारको शक्ति गुमेको छ। साझा उदेश्य र लक्ष्यको आह्वान खोक्रो सुनिन्छ। उनको गर्जनले यथार्थ छोप्न सकेन– थकान सुरु भइसकेको छ।
त्यसमाथि अर्को खतरा क्षितिजमा मडारिँदैछ। डोनाल्ड ट्रम्पलाई जेलेन्स्कीको गलाको पासो मान्न सकिन्छ। एक वर्षपछि पुटिनका प्रिय राष्ट्रपति ओभल अफिसमा फर्किए थुप्रै चिज अचानक समाप्त हुन सक्छन्। युद्ध अनि जेलेन्स्कीको करिअर पनि।
यहीबेला अर्को ‘युद्ध’ले जेलेन्स्कीलाई प्राप्त हुने साथसहयोग सुकाइरहेको छ। उनले यो कुरा बुझेका छन्। उनले यो पनि बुझेका छन्, युक्रेनलाई थप असान्दर्भिक हुनबाट जोगाउन उनी केही गर्न सक्दैनन्।
त्यसैले नै गतसाता नेटोका महासचिव यन्स स्टोल्टेनबर्गले हतास मुद्रामासहयोग कायम राख्न आह्वान गरे।
प्यालेस्टाइनीहरूको ज्यान लिँदै बाँकी बचेको गाजालाई मरुभूमि बनाउने र वेस्ट ब्यांकलाई एक पटक फेरि तहसनहस पार्ने पागलपनले बाइडेनको धोखाधडी र पाखण्डलाई उजागर गरिदिएको छ। जो रुसको ‘आक्रमण’को त विरोध गर्छन् तर इजरायलको प्रचण्ड अमानवीयता र क्रुरतालाई समर्थन गर्छन्।
उनीहरूले गर्ने अन्तर्राष्ट्रिय कानुनको बचाव झुट हो। उनीहरूले गर्ने मानवअधिकारको बचाव पाखण्ड हो। उनीहरूले गर्ने ‘भौगोलिक अखण्डता’ को कुरा ढोङ हो। उनीहरूले भन्ने ‘सुरक्षाको जिम्मेवारी’ झुट हो। उनीहरूले भन्ने युद्ध कसरी सञ्चालन हुनुपर्छ र सर्वसाधारणविरुद्ध हतियार प्रयोग हुनुहुँदैन भन्ने कुरा असत्य हो। ‘युद्ध अपराध’ को बारेमा उनीहरूको व्याख्या बान्ता आउनेखालको ढोङ हो। र, उनीहरूको ‘नरसंहार’ को परिभाषा बिल्कुल घृणित पाखण्ड हो।
युक्रेनको त्रासदीलाई गाजा र वेस्ट ब्यांकको त्रासदीसँग फरक देखाउने कतिपयको प्रयास सफल भएको छैन।
बाइडेनलगायतले प्रतिनिधित्व गर्ने दाबी गरेका करोडौँ नागरिकले सडकमा निस्केर यो कुरा स्पष्ट पारिसकेका छन् र मतपेटिकामार्फत थप स्पष्ट पार्ने कसम खाएका छन्– जोसुकैले गराएको भए पनि त्रासदी समाप्त हुनु पर्छ।
अहिल्यै युद्धविराम गर।
जबसम्म त्यसो हुँदैन, तबसम्म जेलेन्स्कीले उदासीनता र अस्पष्टताको सामना गरिराख्नुपर्ने हुन्छ।
यो व्यापक उदासीनता ‘राजनेताहरू’को अदुरदर्शिता र गलत आकलनको परिणाम हो। जसले इजरायललाई निसर्त समर्थन गर्दा यत्रो प्रतिक्रिया आउला भन्ने कुरा सोच्न सकेनन्।
उनीहरू ढुक्क थिए– तिनका भरपर्दा ‘किबोर्ड योद्धा’ले भरिएको संस्थापन पक्षधर प्रेसले उनीहरूको झुट र पाखण्डलाई छोप्नेछ।
तर, ती गलत थिए।
फलस्वरुप, विश्वका अधिकांशको चेतबाट युक्रेनको दसा गायब भयो, जसरी प्यालेस्टाइनीहरूको दसा गायब भएको छ। प्यालेस्टाइनीहरूलाई त्यागेका तिनै नीच शक्तिहरूले युक्रेनीहरूलाई पनि त्याग्नेछन्।
यो कुरा पनि भ्लादिमिर जेलेन्स्कीलाई थाहा छ।
अल जजिराबाट साभार
