
मौनताको अर्थ स्वीकार्यता कदापी होइन : थापा
दुई–चार जना न्यूज रुममा राखेर दिउसभरी स्टुडियोबाटै चिच्याउने अनि अन्तर्वार्ता नै अन्तर्वार्ता लिएर टेलिभिजन भर्ने, कन्टेन्ट क्रिएसन गर्ने जनशक्ति नराखी एउटै समाचारलाई विहानदेखि बेलुकीसम्म बजाइरहने त्यो राष्ट्रिय भनाउँदो एउटा टेलिभिजनले प्रशारण गरेको बाईट विनाको रिपोर्ट, स्थलगत दृष्य विनाको रिपोर्ट, गफ र बनावटी कथा बुनिएको त्यो रिपोर्ट देख्दा ज्यादै उदेक लागेको छ ।
के मिडिया नै अदालत हो ?
रिपोर्टको शुरुवातीमै भनिएको छ, भ्रष्टाचार भएकोमा त्यस टेलिभिजनलाई धेरै अगाडिदेखि नै भ्रम थिएन रे । के अहिले चाहीं भ्रम उजागर भयो ? के अदालत हो, टेलिभिजन ? शब्द प्रयोगको पनि हेक्का राख्नुपर्छ नि । कथा, साहित्य होइन, पत्रकारिता । न्यायाधिश हुन्, त्यो टेलिभिजनका पत्रकार ? जनताको विश्वास जित्नका लागि कन्टेन्टमा विश्वसनीयता चाहिन्छ । शब्दजाल होइन ।
खाल्डो खनेपछि पोखरी बनेको हो ?
राष्ट्रिय भनाउँदो मिडियाले के लेखेको र के बोलेको ? सिक्दै गरेका युट्युबका पत्रकार भन्दा उपल्लो दर्जामा राखेर मूल्यांकन गरिने राष्ट्रियस्तरका पत्रकारले के यस्ता शब्द लेख्छन् र बोल्छन् ? के खाल्डो भएपछि ताल बनाउन लागेको हो ? कि ताल बनाउनका लागि खाल्डो खनिएको हो ? के त्यहाँ जंगल थियो ? रुख काटेर ताल बनाएको हो ? प्रविधि बुझेको मिडियाले २०७४ अघिको गुगल म्याप खाजेर हेरे भएन ? लेख्न पाएँ र बोल्न पाएँ भन्दैमा जे पनि बोल्ने छुट छैन । अभिव्यक्ति स्वतन्त्रताको उपभोग सहि ढंगले गर्नुपर्दछ । त्यस्ता शब्दजाल बुन्न सक्नेले दृष्यमा प्रमाण देखाउनुपर्दैन ? जे बोलिदिए पनि हुन्छ ?
अख्तियारले डामेको ?
के हो यो शब्द ? डामेको भनेको के हो ? के पत्रकारितामा यस्तै शब्द प्रयोग हुन्छन् ? लुटेर खाए भनिएको छ । कहाँ लुट्न गएँ म ? के लुटेँ ? मैले बनाएको ताल के मेरो नाममा रजिष्ट्रेशन गरिएको छ ? बजेट सत्यानाश गर्ने योजना भनेको के हो ? मधेश प्रदेशको हर्कत ? के हो हर्कत ?
गाउँपालिका ?
बागमती नगरपालिका हो । गाउँपालिका कि नगरपालिका भन्ने कुरा नबुझी लेख्नेले कति कुरा नबुझी लेखेका होलान् ? उदेक लाग्छ । यस्तो पत्रकारिताले मुलुकमा नकारात्मकता फैलाउन मलजल गरिरहेको छ ।
अन्तमा: मिडियाप्रति मेरो सम्मान छ । पत्रकारप्रति त झनै सम्मान छ । तर, मिडिया र त्यसमा कार्यरत पत्रकारका पनि आफ्नै सिमाहरु छन् । ति सिमा नाघ्नु हुँदैन भन्ने कुरा सम्झाईरहनुनपर्ला । कोठाभित्र बसेर कथा बुनेर, कसैलाई देवत्वकरण गर्ने अनि कसैलाई दानवीकरण गर्ने प्रपञ्च नगर्न र शब्दरुपी हतियार नतिखार्न म विशेष अनुरोध गर्दछु ।
सक्नुहुन्छ भने आउनुस्, फिल्डमा आएर रिपोर्टिङ गर्नुस् । अनि देखाउनुस्, सत्य के हो ? तपाईं आफैं थाहा पाउनुहुन्छ । यसरी कथा लेखेर साहित्यकार नबन्नुस्, तपाईं पत्रकार हो भने पत्रकार बन्नुस् ।
(वागमती नगरपालिकाका मेयर भरत थापामाथि अख्तियारले छानविन र भ्रष्टाचारको आराेप लगाएपछि मिडियाहरूले गरेकाे प्रचारबारे थापाले दिएकाे प्रतिक्रिया र धारणा जस्ताकाे तस्तै राखिएकाे-सं )