एमाले संकल्प यात्राः सत्ता बाहिर परेको पीडा, कमजोर बनेका ओली नै विकल्प

मूलखबर संवाददाता
काठमाडौं

सत्तामा जाने प्रयास असफल भएपछि प्रतिपक्षमा सीमित भएको एमाले अहिले आफ्नो शक्ति सञ्चितीका क्रममा छ। सत्ता बाहिर परेको पीडा त छँदै छ कमजोर बनेका अध्यक्ष केपी ओलीलाई फेरि निर्विकल्प देखाउनुपर्ने बाध्यता एमालेलाई छ।

स्थानीहरूसँग पार्टीको सम्बन्ध बढाउँदै राष्ट्रिय सन्देश दिन अहिले ओली झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रामा छन्। कार्यक्रम तीन हप्ता चल्दैछ। मंसिर १४ बिहीबार बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ।

संकल्प यात्राको लक्ष्य राष्ट्रिय सन्देश दिने उल्लेख छ। तर संकल्प यात्राले राष्ट्रिय चासो निर्माण गर्न सकेको छैन। बरु यो यात्रामा ओलीले देखाएको सत्ताबाहिर बस्नुको पीडा र कमजोर बनिसकेको हिरोइज्मबारे भने ‘चिया पसल’हरुमा राष्ट्रिय गफको विषय बनाउन सफल भएको छ।

सत्ताबाहिर बस्नुको पीडा
ओलीले समय-समयमा राजनीतिक रूपमा अर्थ राख्ने आफ्ना गतिविधिका केही तस्वीर पनि सामाजिक सञ्जालमा शेयर गर्ने गरेका छन् । नौ वर्षीय बालकले आफूलाई दिएको चिट्ठीदेखि माछा फ्राई गरेका तस्वीरहरूसम्म ओलीले आफ्नै फेसबुकबाट सार्वजनिक गरेका छन् ।

अभियान सुरु गर्नुअघि नै अब सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले यात्राका क्रममा भएका सभाहरूमा पनि सरकारलाई निसानामा राखेका छन् । ओलीले झुलाघाटदेखि सिन्धुपाल्चोकसम्म पुग्दा गरेका भाषणहरू सुन्दा उनले सरकारलाई निसाना साँधेको प्रस्ट हुन्छ । यस कारण यो अभियान सरकारविरुद्ध र आफ्नो पक्षमा जनमत केन्द्रित गर्नेमा पनि केन्द्रित भएको देखिन्छ ।

अहिलेसम्मको अभियानका क्रममा उनका अभिव्यक्ति सरकारको विरोधमा केन्द्रित छन् । तर, अझै आधा भूभागको यात्रा बाँकी रहेकाले त्यस समयावधिमा के हुन्छ भन्ने हेर्न बाँकी नै छ । जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै सरकारको विकल्प खोजी गर्ने सन्देश ओलीले अभियानका क्रममा दिने गरी आफ्नो अभिव्यक्ति दिने गरेका छन् ।

देशको समस्या अहिलेको सत्ता गठबन्धनले समाधान गर्न नसक्ने दाबी गर्दै ओलीले त्यसका लागि एमालेको सरकार बनाउनुपर्नेमा जोड दिने गरेका छन् । ‘वर्तमान सरकार रहेसम्म संकटमा रहेको मुलुकको अर्थतन्त्रमा सुधार आउँदैन, विकास, निर्माणको कामले गति लिन सक्दैन,’ उनले भनेका छन् ।

दैलेखमा पुगेर उनले वर्तमान सरकार रहेसम्म मुलुकमा विकास, निर्माणको कामले गति लिन नसक्ने दाबी गरेका थिए । अभियानका क्रममा ओलीका अभिव्यक्ति वर्तमान गठबन्धन सरकारको विकल्प खोज्ने कुरामा बढी केन्द्रित देखिन्छ । उनले राष्ट्रिय स्वाधीनता र स्वाभिमान इतिहासमै सबैभन्दा कमजोर बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् ।

कमजोर तर निर्विकल्प ओली
लोकतन्त्रमा नागरिकले उत्तरदायी शासक खोज्छन्, कार्यकर्ताले जवाफसहितको नेता। तर, एमालेको हकमा यस्को ठ्याक्कै उल्टो छ। पाँच लाख बढी संगठित सदस्य, दुई दर्जन जनसंगठन, एक हजार हाराहारी प्रदेश सदस्य, तीन सय बढी केन्द्रीय सदस्य भएको एमालेमा प्रश्न मुर्झाउँदै गएको ओलीको उदयपछि नै हो।

प्रश्न गर्नेहरू पाखा लाग्दै गएका छन्। अहिले प्रश्नविहीनहरू नेता–कार्यकर्तालाई मात्रै पार्टी नेतृत्वले खास एमाले मान्छ। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रश्नहरू छलेका छन्। जबकि एमालेले जनताका गुनासोमा पार्टीको नेतृत्वलाई उपस्थित गराउनकै लागि मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्रा तय गरेको थियो।

कास्की अर्मलाकोट, कालीखोला पुल, महेन्द्रगुफा, चमेरे गुफा आदि ठाउँमा मानिसहरू ओलीकै पालामाा टुंग्याइएको मध्यपहाडी राजमार्गको रेखाङ्कनप्रति मन भाँचेर बसेका छन्।

भाँसिदै गएको जमिनमाथि राजमार्ग बनाउँदा थातथलो उखेलिने भयले उनीहरूलाई दपेटेको छ। ओलीले कम्तीमा आफ्ना पीडा सुनून् भन्ने उनीहरू चाहन्थे। तर, एमालेको संकल्प यात्रा उनीहरूका पीरमर्का सुन्न खेतखलियानमा त पुगेन नै, दैलैछेउको बाटो छलेर लम्जुङ हानियो।

यद्यपि अर्मला छेउछाउका बासिन्दाले मुर्दावाद भन्दा पनि केपी बा भन्न छुटाएनन्। र त, जारी एमालेको दुई हजार किलोमिटर लामो मध्यपहाडी संकल्प यात्रा ‘बा ब्रान्डिङ’ कै निरन्तरताजस्तो देखिएको छ। थप ब्रान्डिङका लागि हिँडेको ‘लङ मार्च’जस्तो देखिएको एमालेकै कतिपय नेताहरूको बुझाइ छ।

समग्रमा हेर्दा एमालेको संकल्प यात्रा सत्ताबाहिर बस्नुको पीडा र कमजोर ओलीलाई निर्विकल्प देखाउने प्रपञ्च जस्तो मात्र देखिएको छ।