लुट मच्चाउनेहरुको सातपुस्ते सम्पत्ति जफत नगरेसम्म सुशासन हुँदैन : माधव कुमार नेपाल

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीहरु आफैं कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा संलग्न रहेको आरोप लगाउनु भएको छ ।

नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको समेत उहाँको तर्क छ ।

‘कर्मचारीको नियुक्तीमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले भन्नुभयो, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’ वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भईरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभयो ।

स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरुमाथि कडा कार्वाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ । उहाँले मुलुकमा लुट मच्चाउनेहरुको सातपुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।