बालुवाटारमा सत्तापक्ष प्रतिपक्ष आमनेसामने : के भयो सहमति ?
सत्तापक्ष र प्रतिपक्षको व्यवस्था संसदिय व्यवस्थाको मुख्य पहिचान हो । यहि पचिान र गहना संसदिय व्यवस्थाको कमजोरी मान्नेहरु पनि छन् । सहमतिमा अगाडि बढ्न सक्दा यो गहना नै हो र सहमति हुन नसक्दा घाँडो पनि यही पहिचान हो ।
नेपालमा बहुदलीय व्यवस्था र नयाँ संविधानअन्तरगत सत्तापक्ष र प्रतिपक्षबीच पानी बाराबार समेत हुने गरेको छ वा एउटाले ल्याएको एजेण्डा अर्कोले फेल गर्नैपर्ने जस्तो प्रवृत्ति छ ।
अहिले केही समययता सत्तापक्ष र प्रतिपक्षबीच टाढिएको सम्बन्धलाई साँघुरो बनाउँदै लैजानको लागि आज एक पहल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको आजको बैठकमा दूरी घटाउन दुवै दल सहमत भएका छन् । सत्तापक्ष नेकपा र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस दुई दलबीचको अनौपचारिक छलफलमा मुलुकका प्रमुख मुद्दामा सत्तापक्ष प्रतिपक्षको सुझाव र सहयोग लिएरै अघि बढ्ने विषयमा सहमति भएको बताइएको छ ।
बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको उपस्थितिमा नेपाली काँग्रेससँग भएको छलफलमा यस्तो सहमति भएको बताइएको छ । प्रचण्ड निकट श्रोतका अनुसार आगामी दिनमा छलफललाई निरन्तरता दिन समेत दुवै दल सहमत भएका छन् ।
‘दुई दलबीचको छलफल र सम्वादलाई निरन्तरता दिने विषयमा कुुराकानी भयो । त्यस्तै प्रमुख मुद्दाहरुमा सबै मिलेर जाने विषयमा पनि सामान्य छलफल भएको छ । बैठकमा संवैधानिक परिषद्को बैठक, सभामुख चयन सत्य निरुपण तथा वेपत्ता आयोग लगायतका विषयमा सामान्य छलफल भएपनि सहमति भने जुट्न नसकेको बुझिन्छ ।
बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए भने काँग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा नेताहरु रमेश लेखक र डा। मिनेन्द्र रिजाल सहभागी थिए ।