
इराकमा कारबम बिस्फोटबाट ९३ को मृत्यु
काठमाडौं,३० वैशाख ।
इराकको राजधानी बग्दादस्थित एक व्यस्त बजारमा भएको कार बम विस्फोटमा कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी अन्य ८७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।
यो आक्रमण इराकमा पछिल्लो समयमा भएका आक्रमणमध्ये सबैभन्दा ठूलो मानिएको छ । आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।
शियाहरुको बाहुल्य रहेको शहरमा विहानको व्यस्त समयमा विष्फोट गराइएको थियो । विष्फोटका कारण आसपासका भवन र सवारी साधन ध्वस्त भएका छन् ।
इराकको उत्तरी र पश्चिमी क्षेत्र सुन्नी समुहको नियन्त्रणमा छ भने शियाहरु आक्रमणको निशानामा पर्दै आएका छन् ।
