अब जनताले सोच्दै नसोचेको उथलपुथल आउँछ-  उपप्रधानमन्त्री रायमाझी

विमला अधिकारी,

लमजुङ्ग, २६ चैत /

lamjung urja mantri
उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझीले उर्जा सङकट निवारणकाल घोषणा गरेर आफूहरु अघि बढेकाले अबका दिन तथा महिनाहरुमा उर्जा विकासको क्षेत्रमा जनताले सोच्दै नसोचेको उथलपुथल आउने दावी गरेका छन् । विगतका कमीकमजोरीलाई सच्याएर अगाडी बढ्नुपर्ने भन्दै मन्त्री रायमाझीले उर्जाको विकासबाटै अब देशलाई समृद्धितर्फ लगिने बताए ।
पूर्वी लमजुङको फलेनी र बन्सार गाविसको सिमानामा निमार्ण भई विद्युत् उत्पादन सुरु गरेको २ मेगावट क्षमताको छ्याङ्दी खोला जलविद्युत आयोजनाको आज उद्घाटन गर्दै मन्त्री रायमाझीले सो कुरा बताएका हुन् ।
मन्त्री रायमाझीले १६ घण्टाको लोडसेडिङ विस्तारै घटाउँदै अवको एक वर्षभित्रमा जनताले महसुस हुने गरी आधरभूत रुपमा लोडसेडिङ मुक्त गर्ने र दुई वर्षमा पूर्णरुपमा विद्युत् भार कटौतीमुक्त गर्ने उल्लेख गरे । उनले भने ,“उर्जाक्षेत्रमा अब सोच्दै नसोचेको उथलपुथल हुन्छ जुन काम १ सय ५ वर्षसम्म पनि भएन त्यो काम अब हामी छिट्टै गछौं ।” १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य छ ।
मन्त्री रायमाझीले ट्रान्समीसन लाइनको व्यवस्थापन हुन नसक्दा उत्पादित विद्युत् पनि खेर फाल्नुपर्ने परिस्थितिलाई मधयनजर राख्दै सरकारले ट्रान्समीसन लाइनको अध्ययनलाई प्राथमिकतामा राखी अघि बढेको बताए । उनले अब ढुक्क भएर जलविद्युत्मा लगानी बढाउन लगानी कर्तालाई आग्रह पनि गरे ।
भारतीय नाकाबन्दी र चरम इन्धन अभावका बाबजुद निर्माण शुरु गरी विद्युत् उत्पादन गरेको यस छ्याङदी आयोजना र नेपाल विद्युत प्राधिकरणबीच सुख्खा याममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरी विद्युत् खरिद सम्झौता (पीपीए) भएको थियो । एक÷एक मेगावाट क्षमताका २ वटा टर्बाइन जडित यस आयोजनको कुल ग्रस हेड १ सय ८५ मिटर रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको प्रारम्भिक लागत २२ करोडको हाराहारीमा रहेपनि पछि यसको जडित क्षमतामा बृद्धि गरेपछि बढेर ३९ करोड पुगेको कम्पनीका कार्यकारी संचालक लालबहादुर थापाले बताउनुभयो । प्रवद्र्धक कम्पनी छयाङ्दीले आयोजना निर्माण सँगसँगै २ करोडको लागतमा विद्युत प्रसारण लाइन पनि आफैले बनाएको छ । सव स्टेशनसम्म ९.८ किलोमिटर लामो ३३ केभिए सिंगल सर्किट प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

कार्यक्रममा उर्जा मन्त्रालयका सुमन प्रसाद शर्मा, सांसद टुका हमाल, लाल बहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी मोहन जिसी, नेपाली कांग्रेसका जिल्ला सभापति भेष बहादुर पौडेल, नेकपा एमालेका भनञ्जय दवाडी, एमाओवादीका मेख बहादुर भण्डारी, राप्रपा नेपालका शंकरराज विष्ट, स्थानिय विकास अधिकारी शेखर पौडेल, माथिल्लो मस्र्याङ्दी ए सरोकार समितिका अध्यक्ष चीन बहादुर गुरुङ लगायतले कायृक्रममा मनतब्य राख्दै जलविदुत्मा लगानी मैत्री बातावरण सिर्जना गर्नुपर्ने बन्द हड्ताल गर्न नहुने बताएका थिए ।