माओवादी आन्दोलन पुनर्गठन नगरेसम्म आफु नथाक्ने –प्रचण्ड

काठमाडौं , २४ चैत ।

Ø  पार्टीमा गुट उपगुट अन्त्य हुनुपर्ने , पुर्व समूह भनेर व्याज खान नपाउने।

Ø  अब पार्टीबाट हुने नियुक्तिहरुमा शहिद र बेपत्ता परिवारका छोराछोरीलाई मात्र पठाईने ।

Ø  शहिद र बेपत्ता परिवार ,घाईते तथा अपांग कार्यकर्ताको उपचारका लागी अक्षयकोष समेत छिट्टै स्थापना गरिने।

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन पुनर्गठन नगरेसम्म आफु नथाक्ने बताएका छन् । पार्टी एकताका बारेमा चर्चा परिचर्चा भईरहँदा अध्यक्ष प्रचण्डले पार्टीको भगीनि संगठन अनेमसंघ क्रान्तिकारीको राजधानीमा उद्घाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।माओवादीहरु एकताको प्रक्रियामा अघि बढेपनि देशभित्र र बाहिर एकताका बिरोधीहरु लागीरहेको बताउँदै प्रचण्डले कसैले पनि चाहेर एकता प्रक्रिया रोक्न नसक्ने दाबि गरे । प्रचण्डले भने , ‘माओवादी आन्दोलनका कारण मुलुक संघिय लोकतान्त्रिक गणतन्त्र बन्न संभव हुनुका साथै देशमा संबिधान आएपनि अझैपनि धेरै चुनौति बाँकी छन् ।’
उनले सम्पूर्ण नेपालीहरु स्वाधिनता र आत्मसम्मानका लागी एक हुनुपर्ने बताए । भुकम्पपछि क्षतिग्रस्त बनेको नेपाललाई पुननिर्माण गर्न, संबिधान कार्यन्वयन गर्न र आर्थिक सम्बृद्धिका लागी एक भएर अघि बढ्न जरुरी भएको प्रचण्डको धारणा थियो । प्रचण्डले क्रान्तिकारी आन्दोलनबाट आएको पार्टी केहीहदसम्म बिग्रीएको स्वीकार गर्दै अब पार्टीलाई पुननिर्माण गर्ने बताए । पार्टी भित्र गुट उपगुट मौलाएको भन्दै प्रचण्डले अब त्यस्ता गुट उपगुट अन्त्य हुनुपर्ने , पुर्व समूह भनेर व्याज खान नपाउने र बर्तमानमा सबै क्रान्तिकारी एक हुनुपर्ने बताए । पार्टीभित्र जनयुद्धबाट आएका र पछिल्लो चरणमा एकताको प्रक्रियाबाट आएकाहरुबीच बेलाबेलामा देखिने दम्भ र विवादका सन्दर्भमा अध्यक्ष प्रचण्डले जनयुद्धबाट आएका मात्रै सहि हुने र एकता प्रक्रियाबाट आएकाहरु बेठिक हुने भन्ने नहुने दाबि गरे । अध्यक्ष प्रचण्डले जनयुद्धबाट आएका बैद्य र बाबुरामप्रति व्यङ्ग्य गर्दै भने, ‘वैद्य जी अहिले पार्टी छोडेर कता हराउनुभयो,अरुलाई उपचार गर्नुपर्ने डा. साब आफै भौतारीएर बिरामी पर्नु भएको छ । बरु एकता प्रक्रियाबाट आएकाहरुले साथ दिएका छन् । ’
हिजो जनयुद्धमा पनि पिछडिएका वर्ग, जाती, क्षेत्र, लिङ्गले नै अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गरेको स्मरण गर्दै पार्टीमा ती समुदाय अहिले पछाडी परेको प्रचण्डले स्वीकार गरे । प्रचण्डले अब पार्टीमा जनसंख्याकै आधारमा हरेक ठाउँमा सहभागी गराउने बताए । जनयुद्धमा महिलाहरुले खेलेको त्याग र तपस्याकै कारण मुलुकमा गणतन्त्र र संविधान प्राप्त भएको बताए । अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भित्र मात्र नभई हरेक पार्टीमा महिलाहरुले स्थान पाउनुमा जनयुद्धकै देन भएको धारणा राखे ।
प्रचण्डले अब पार्टीबाट हुने नियुक्तिहरुमा शहिद र बेपत्ता परिवारका छोराछोरीलाई मात्र पठाईने घोषणा गर्दै भने , ‘शहीद बेपत्ता परिवार घाईते तथा अपांग , कार्यकर्ताको उपचारका लागी अक्षयकोष समेत छिट्टै स्थापना गरिनेछ ।’ अनेमसंघ क्रान्तिकारीको उद्घाटन समारोहमा शुभकामना दिदै सामान्य प्रसासनमन्त्री रेखा शर्माले प्राप्त उपलब्धीलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिईन् ।
सम्मेलनमा बिभिन्न पार्टीसंग आबद्ध महिला संगठन , एमाओवादी आबद्ध जनबर्गिय संगठनका प्रतिनिधिहरु लगायतले शुभकामना दिएका थिए । जनयुद्धबाटै आएका तर बिभिन्न समूहमा बिभाजीत भएका महिला नेतृहरु बोल्नेक्रममा निकै भाबुक भएका थिए ।उनीहरुले माओवादीहरु बिभाजीत हुँदा सबै उपलब्धीहरु गुमेको बताउँदै माओवादीहरुको पुनर्गठन अपरिहार्य भएको बताएका थिए । चैत्र २६ सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वको चयन गर्ने बताईएको छ ।