
आगलागीबाट ३० लाख बराबरको धनमाल क्षति
काठमाडौं , २२ चैत ।
मुलुकका बिभिन्न स्थानमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल क्षति भएको छ । कास्की पोखरा उपमहानगरपालिका ८ फिर्केस्थित गण्डकी धौलागिरी कपास उद्योगमा बिद्युत सर्ट भई आगलागी हुँदा उद्योगमा रहेको मेशिन तथा कपास जलेर १० लाखको क्षति भएको छ । त्यसैगरी सिराहा कल्याणपुर ९ स्थित बबन सिंहको घरमा आगलागी भई बस्तीमा फैलिदा सिंह लगायत ३ जनाको घर जलेर नष्ट भई ८ लाख ७० हजार रुपैयाँको क्षति भएको छ ।
ललितपुर उपमहानगरपालिका १७ लुकुशीस्थित रेशम श्रेष्ठको ललित कपास उद्योगमा आगलागी हुँदा करीब ४ लाख ८५ हजार रुपैयाँको क्षति भएको छ भने उता कपिलबस्तु गणेशपुर ३ पशुहिया बस्ने सनही केवटको घरमा आगलागी हुँदा छिमेकको ३ वटा फुसको घरसमेत जलेर नष्ट भई करीब ७ लाख बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
