काेशी प्रदेशमा ४ हजार घर विपदकाे जाेखीममा, बस्ती स्थानान्तरणकाे तयारी
काेशी प्रदेशमा ४ हजारभन्दा बढी परिवार मनसुनजन्य विपदको जोखिममा रहेको देखिएको छ ।
काेशी प्रदेशमा १४ वटा जिल्ला रहेका छन् । याे प्रदेशमा बाढीपहिरोजस्ता प्राकृतिक विपद् र खोला छेउका बस्तीका घरहरु जोखिममा रहेका हुन्। जोखिममा रहेका करिब ४ हजार १ सय ५१ परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए।
उनका अनुसार प्रदेश सरकारले विपद् जोखिम क्षेत्रको नक्सांकन गरेको थियो। उक्त नक्सांकनबाट ४ हजार १ सय ५१ परिवार मनसुनजन्य जोखिममा रहेको तथ्यांक प्राप्त भएको थापाले बताए। प्रदेश सरकारले विपदको क्षति न्यूनीकरण गर्नका लागि विपद् बिमा र बस्ती स्थानान्तरणको तयारी सुरु गरेको छ।
मन्त्रालयका अनुसार गत वर्ष आगलागी, बाढीपहिरो चट्याङ र विस्फोटमा परेर मृत्यु भएका ३४ जनाको परिवारलाई राहत रकम वितरण गरिएको छ। त्यस्तै, निजी आवास बनाउन ८६ लाख ४० हजार सहयोग गरिएको मन्त्रालयका उपसचिव थापाले जानकारी दिए।




