गोरखामा निर्माण व्यवसायीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

मूलखबर संवाददाता
गाेरखा, २८ जेठ

गोरखामा निर्माण व्यवसायीमाथि निर्धात कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार जिल्लाको गण्डकी गाउँपालिका–२,खमारेमा कृतिका निर्माण सेवाका सञ्चालक कृष्णप्रसाद अंगाईलाई कुटपिट गरेको आरोपमा गण्डकी गाउँपालिका–४, ढावेका २९ बर्षका सुजल थापा, १९ बर्षका पुष्प देवकोटा र गण्डकी गाउँपालिका–३ आमडाँडाका बर्ष २४ का दयाराम पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतवहादुर बि.कले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जना बिरुद्ध प्रहरीले ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो । ठेक्काको कामको शिलशिलामा गण्डकी गाउँपालिका गएका बेला सञ्चालक अम्गाईमाथि उनीहरुले घर फर्कदै गर्दा ज्यान मार्ने उद्देस्यले हेल्मेट, ढुङगालगायतले आक्रमण गरेका थिए । घाइते अम्गाईको अवस्था खतरामुक्त रहेको छ । कुटपिटबाट अम्गाईको टाउको तथा शरिरका बिभिन्न भागमा निर्धात चोटपटक लागेको एसपी बि.कले बताउनुभयो ।

सोमबार पक्राउ परेका तीन जना बिरुद्ध आज जिल्ला अदालत गोरखाबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरुको साथबाट एकथान मोटरसाइकल, र मोवाइल बरामद् गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।