आँबुखैरेनी गाउँपालिकामा मासु, मह र गुन्द्रुक उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन
तनहँको आँबुखैरेनी गाउँपालिकामा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनको प्रवर्द्धनका लागि मासु, मह र गुन्द्रुक उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ। उत्पादनमा आधारित यस कार्यक्रममा गाउँपालिकाले प्रति केजि २५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो।
यस कार्यक्रमका लागि कृषि तर्फ विशेष बजेट विनियोजन गरिएको थियो। गाउँपालिकामा सूचिकृत विभिन्न कृषक समूहहरुले सोहीअनुसार कार्यक्रम सञ्चालन गरी उत्पादन गरेका परिमाणअनुसार अनुदान प्राप्त गरेका छन्।
गाउँपालिका अध्यक्ष सुक्रचुमानले यसबारे बताउँदै भन्नुभयो, “स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै हामीले उत्पादनमुखी कार्यक्रम ल्याएका हौं। कृषकहरुलाई सघाउँदा नतिजा राम्रो आएको छ। आगामी वर्षहरूमा उत्पादन अझ वृद्धि हुने आशा लिएका छौं, साथै बाँझो जमिन पनि उपयोगमा ल्याउने हाम्रो लक्ष्य हो।”
गाउँपालिका कार्यालयका अनुसार कार्यक्रमबाट उत्साहित भई आगामी वर्षमा अझ धेरै कृषक समूहहरुले सहभागिता जनाउने तयारी गरिरहेका छन्। गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने र थप आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गर्ने योजना बनाएको छ। स्थानीय उत्पादनमा आधारित यस्तो अनुदान कार्यक्रमले गाउँको आर्थिक समृद्धिमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।




