पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी, साउन ३१ गते तारेख
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटीमा रिहा गर्दै तारेखका लागि साउन १३ गते बोलाएको छ ।
पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा बुधबार भएको ४ घण्टा लामो थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
गत जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई विपक्षी बनाउँदै हदबन्दीभन्दा बढी जग्गा कम्पनीका नाममा बिक्री वितरण गर्न दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।
पतञ्जली जग्गा प्रकरणमा अख्तियारले मुद्वा दायर गरेका पूर्वप्रधानमन्त्री नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका थिए ।
पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।
अदालतका सूचना अधिकारी रेग्मीले बहसका लागि माधव नेपालको पक्षबाट मात्रै एक सय जनाभन्दा बढीले वकालतनामा गरेको बताएका थिए ।
माधव नेपालको पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोबिन्द बन्दी, सुशील पन्त लगायतले बहस गरेका थिए ।
पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री नेपालसहितमाथि ९३ जना विरुद्ध मुद्दा दायर भएको छ ।





