पार्टी अनुशासन र आधुनिक चीन निर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीको छलाङ
चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक अक्टोबर २९ मा केही दूरगामी निर्णयसहित सम्पन्न भएको छ । सिपिसीको सो बैठकले आन्तरिक अनुशासन, भ्रष्टाचार नियन्त्रण, संगठनात्मक शुद्धीकरण र समाजवादी आधुनिकीकरणलाई थप प्रभावकारी बनाउने निर्णय गरेसँगै अबको चिनियाँ समाजको गति र दिशा के हुने भनेर अन्तर्राष्ट्रिय राजनीतिक र आर्थिक वृत्तमा विशेष ध्यान आकर्षित गरेको छ । राष्ट्रपति तथा पार्टी महासचिव सी जिनपिङको नेतृत्वमा सम्पन्न बैठकले सिपिसी आफ्नो संगठनात्मक जीवनमा अनुशासन र आत्मसुधारलाई कति महत्त्व दिएको छ भन्ने सन्देश दिएको छ ।

सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना भएदेखि सन् २०२६ मा आइपुग्दा चीनले राजनीतिक, आर्थिक, सामाजिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा असाधारण रूपान्तरण र उपलव्धी हासिल गरेको छ । गरिबी, भोकमरी र पिछडिएको अवस्थाबाट आधुनिक औद्योगिक, वैज्ञानिक तथा प्रविधिमैत्री शक्तिका रूपमा चीनको उदय विश्व इतिहासकै महत्त्वपूर्ण घटनामध्ये एक हो । र यसको मूल केन्द्रमा वर्तमान महासचिव तथा राष्ट्रपति सीको अहम भुमिका र नेतृत्व रहेको कुरा दिनको घाम झैं छर्लङ छ ।
यस रूपान्तरणमा माओत्सेतुङको नेतृत्वमा भएको क्रान्ति र राष्ट्र निर्माण, तङ स्याओपिङको सुधार तथा खुलापनको नीति र त्यसपछिका नेतृत्वहरूको योगदान महत्त्वपूर्ण छ नै तर सन् २०१२ मा सी जिनपिङ पार्टीको महासचिव बनेयता चीनले विकास, राष्ट्रिय पुनर्जागरण, गरिबी निवारण, प्रविधि र पार्टी संगठन सुदृढीकरणमा नयाँ चरण प्रवेश गरेको देखिन्छ ।
सी जिनपिङको नेतृत्वमा चीनले गरिबी निवारण अभियानलाई व्यापक बनायो, पूर्वाधार विकासलाई तीव्रता दियो, उच्च प्रविधि र वैज्ञानिक अनुसन्धानमा ठूलो लगानी गर्यो तथा विश्व अर्थतन्त्रमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्यो । बेल्ट एन्ड रोड इनिसिएटिभ, डिजिटल अर्थतन्त्र, हरित विकास, विद्युतीय सवारी साधन, कृत्रिम बुद्धिमत्ता र अन्तरिक्ष अनुसन्धान यसका महत्त्वपूर्ण उदाहरण हुन् ।

सीको नेतृत्वमा अघि सारिएको चिनियाँ विशेषतासहितको समाजवादले विकास र राष्ट्रिय स्वाधीनतालाई एकीकृत गर्ने राजनीतिक तथा आर्थिक दृष्टिकोण प्रस्तुत गरेको छ । उनको नेतृत्वको महत्त्वलाई चीनको पछिल्लो रूपान्तरणबाट अलग गरेर हेर्न सकिँदैन । यो उपलब्धि चिनियाँ जनताको श्रम, पार्टीको संस्थागत निरन्तरता, विगतका सुधार र दीर्घकालीन राष्ट्रिय नीतिहरूको संयुक्त परिणाम पनि हो । हालै सम्पन्न पाँचौँ पूर्ण बैठकको मूख्य र ऐतिहासिक निर्णय पार्टी अनुशासन, संगठनात्मक शुद्धीकरण, राजनीतिक प्रतिबद्धता, भ्रष्टाचार नियन्त्रण र जिम्मेवार नेतृत्व निर्माणसम्बन्धी महत्त्वपूर्ण प्रस्ताव नै हो जसले कम्युनिष्ट हुनुको अर्थ बोकेको छ ।
सो बैठकले पार्टी संगठनलाई राजनीतिक रूपमा सुदृढ बनाउने, जनवादी केन्द्रीयताको अभ्यासलाई प्रभावकारी बनाउने, पार्टीका सबै तहका जिम्मेवार नेताहरूलाई जवाफदेही बनाउने र संगठनात्मक निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा जोड दिनुले आधुनिक समाजमा कम्युनिष्ट व्यवस्थालाई जनताको मनमुटुमा स्थापित गराउने कार्यनीतिका रुपमा हेरिनुपर्छ । विशेषतः भ्रष्टाचार गर्ने आँट, अवसर र चाहना नै समाप्त गर्ने तीनवटा पक्षलाई एकीकृत रूपमा सम्बोधन गर्ने नीति महत्त्वपूर्ण देखिन्छ । भ्रष्टाचार देखिएपछि कारबाही गर्नु मात्र पर्याप्त हुँदैन; भ्रष्टाचार हुन नदिने संस्थागत प्रणाली निर्माण गर्नु पनि उत्तिकै आवश्यक हुन्छ भन्ने यसको मूल सन्देश हो । बैठकले भ्रष्टाचार नियन्त्रणलाई पार्टी सुदृढीकरणको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै भ्रष्टाचार गर्न नसक्ने, भ्रष्टाचार गर्न नहुने र भ्रष्टाचार गर्न नचाहने अवस्था सिर्जना गर्ने तीनमुखे रणनीतिलाई एकीकृत रूपमा कार्यान्वयन गर्ने माैलिक निर्णय लिएको छ । यसका लागि भ्रष्टाचारविरुद्ध कठोर कारबाही, संस्थागत सुधार, अधिकारको प्रयोगमाथि निगरानी र नैतिक आचरणको विकासलाई सँगसँगै अगाडि बढाइने छ। जुन चिनियाँ कम्युनिष्ट पार्टीले व्यावहारिक रूपमै कार्यान्वयनको शुरूवात गरेको छ ।
३४ जना नेतामाथी कारबाही, सिंहदेखी भुसुनासम्म नछाड्ने
यस बैठकको अर्को महत्त्वपूर्ण पक्ष उच्चतहका पार्टी तथा सैन्य अधिकारीमाथि गरिएको कारबाहीको अनुमोदन हो । बैठकले अनुशासनविरोधी काम गरेका सिंहदेखी भुसुनासम्मलाई नछाड्ने निति पारित गर्दै कार्यन्वयन शुरू गरेको छ र ३३ जनालाई पार्टीबाट निष्कासन गरेको कुरा सार्वजनिक गरि आधिकारिक ढंगले पुष्टि गरिएको छ । ली युनजेको पार्टीभित्रको पद हटाउने निर्णय पनि उल्लेख गरिएको छ यो निर्णय धेरैको कल्पना भन्दा बाहिरको कुरा थियो । अनुशासन तथा कानुनको गम्भीर उल्लङ्घनसम्बन्धी प्रतिवेदनमा पूर्ववरिष्ठ सरकारी अधिकारी, प्रान्तीय नेतृत्व, सैन्य अधिकारी र रक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू पनि समेटिएका छन् । यसरी उच्च तहका अधिकारीसमेत कारबाहीको दायरामा आउनुले पार्टी अनुशासनमा पद, प्रतिष्ठा र शक्ति निर्णायक सुरक्षा कवच बन्न नसक्ने सन्देश दिन्छ । यद्यपि कारबाहीका आधार, प्रमाण र प्रक्रियाको पारदर्शिता तथा निष्पक्षता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् । अनुशासनको प्रभावकारिता न्यायपूर्ण प्रक्रियाबाट नै सुनिश्चित हुनुपर्छ ।
राजनीतिक नेतृत्वमा रहेका मा सिङरुई पोलिटब्युरोका पूर्व सदस्यसमेत भएकाले उनको कारबाही विशेष चर्चामा आएको छ भने कूटनीतिक क्षेत्रका लिउ चियानचाओ अन्तर्राष्ट्रिय विभागका पूर्व प्रमुख हुन् । उनको कारबाहीले पार्टीको विदेश सम्बन्ध सञ्चालन गर्ने उच्च तहसमेत प्रभावित भएको देखाउँछ । सैन्य नेतृत्वमा रहेका चाङ युस्या केन्द्रीय सैन्य आयोगका पूर्व उपाध्यक्ष हुन् । उनीमाथिको कारबाही सैन्य नेतृत्व तहमा भएको ठूलो परिवर्तनका रूपमा हेरिएको छ । यसैगरी आर्थिक तथा औद्योगिक क्षेत्रका चिन च्वाङलुङ, यी हुईमान र ली युनजे जस्ता अधिकारीमाथिको कारबाहीले आर्थिक नियमन तथा औद्योगिक प्रशासनका उच्च तहसमेत यस अभियानको दायरामा परेको देखाउँछ ।
यसैगरी, बैठकले झाङ सेङमिनलाई केन्द्रीय समितिको राजनीतिक ब्युरोको सदस्यमा निर्वाचित गरेको छ । पार्टी विधानअनुसार १० जना वैकल्पिक केन्द्रीय सदस्यलाई केन्द्रीय समितिको पूर्ण सदस्यमा पदोन्नति गर्ने निर्णयसमेत गरिएको छ । यो निर्णय कुनै राजनीतिक पुर्वाग्रहमा आधारित नभई तथ्य जाँच र पुष्टिपछि पार्टीको उच्च छानविन पश्चात भएको कारवाही हो । यो निर्णय चीनमा मात्रै होइन विश्वभरका क्रान्तिकारी कम्युनिष्ट र वामपन्थी पार्टीहरूको लागि गतिलो शिक्षा र दरिलो झड्का समेत बन्ने देखिन्छ ।

सिपिसीको मुख्य ध्यान चार परिक्षण र चार जोखिम न्यूनीकरणमा
चिनियाँ कम्युनिस्ट पार्टीले दस्तावेजमा उल्लेख गरेका ‘चार ठूला परीक्षण’ र ‘चार प्रकारका जोखिम’ पार्टीको आन्तरिक संगठन, सत्ता सञ्चालन र राजनीतिक अनुशासनसँग सम्बन्धित स्थापित अवधारणा हुन् । पार्टीले सामना गरिरहेका चार ठूला परीक्षण मध्ये शासनसत्ता सञ्चालनको परीक्षालाई महत्वको बिषय मानेको छ । लामो समयसम्म सत्तामा रहँदा जनताको विश्वास, सुशासन र प्रशासनिक क्षमता कायम राख्ने चुनौती भनेको छ । यसैगरी सुधार तथा खुलापनको परीक्षा अन्तर्गत आर्थिक सुधार, बजारमुखी विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच समाजवादी राजनीतिक दिशा कायम राख्ने चुनौती छ भने बजार अर्थतन्त्रको परीक्षा सम्बन्धमा बजार अर्थतन्त्रबाट उत्पन्न असमानता, स्वार्थ, आर्थिक विकृति र अवसरवादलाई नियन्त्रण गर्ने चुनौती मानिएको छ । र बाह्य अवस्थाको परीक्षामा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा, भूराजनीतिक तनाव र बाह्य प्रभावबीच राष्ट्रिय हित तथा पार्टीको राजनीतिक दिशा कायम राख्ने चुनौती भनि व्याख्या गरेको छ ।
यसैगरी सो पार्टीले सामना गरिरहेका चार प्रकारका जोखिममा राजनीतिक ऊर्जा तथा उत्साहको कमीऽ नेतृत्व र कार्यकर्तामा क्रान्तिकारी भावना, प्रतिबद्धता र काम गर्ने उत्साह कमजोर हुँदै जाने कुरा उल्लेख छ । क्षमता तथा दक्षताको कमी हुने जोखिममा बदलिँदो परिस्थिति र नयाँ चुनौती सामना गर्ने नेतृत्व तथा संगठनात्मक क्षमता कमजोर हुने बिषय समेटिएको छ भने जनताबाट टाढिने जोखिममा पार्टी र नेतृत्व जनताको वास्तविक समस्या, आवश्यकता र अपेक्षाबाट अलग हुँदै जाने सन्दर्भ राखिएको छ । भ्रष्टाचार तथा अनियमितताको जोखिममा पद वा शक्ति र अधिकारको दुरुपयोग, भ्रष्टाचार, स्वार्थ र अनुशासनहिनता बढ्दै जाने प्रवृतिलाई ठुलो जोखिम ठानिएको छ । यी चार परिक्षण र चार जोखिम अर्थात आठवटा बुदालाई चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो दीर्घकालीन सत्तारूढ अस्तित्व र संगठनात्मक सुदृढीकरणसँग जोडेर व्याख्या गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सञ्चालन, आर्थिक सुधार, बजार अर्थतन्त्र र बाह्य वातावरणलाई आफ्ना चार प्रमुख परीक्षाका रूपमा स्वीकार गरेको छ । यसैगरी राजनीतिक उत्साहको कमी, संगठनात्मक शिथिलता, जनताबाट दूरी र भ्रष्टाचारलाई चार प्रमुख जोखिमका रूपमा पहिचान गरेको छ । यसको अर्थ पार्टीले आफ्नो सबैभन्दा ठूलो चुनौती बाह्य प्रतिस्पर्धामा मात्र होइन बरु आफ्नै संगठन, नेतृत्व, कार्यशैली र जनसम्बन्धभित्र पनि रहेको स्वीकार गरेको देखिन्छ । लामो समयसम्म सत्तामा रहेको कम्युनिस्ट पार्टीका लागि आत्मसमीक्षा, आत्मसुधार र जनतासँगको सम्बन्ध सुदृढीकरण किन आवश्यक हुन्छ भन्ने विषयमा यी आठ अवधारणाले महत्वपूर्ण सैद्धान्तिक आधार प्रस्तुत गरेका छन् ।
चिनियाँ विकासको आगामी मार्गचित्र
चीनले सन् २०२६ देखि २०३० सम्म १५औँ पञ्चवर्षीय योजनाको कार्यान्वयनलाई अगाडि बढाइरहेको छ । यसको मूल प्राथमिकता उच्च गुणस्तरीय विकास, वैज्ञानिक अनुसन्धान, प्रविधिमा आत्मनिर्भरता, आन्तरिक उपभोग विस्तार, हरित अर्थतन्त्र, सामाजिक सुरक्षा र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउनु हो । राष्ट्रपति सी जिनपिङले अघि सारेको चिनियाँ आधुनिकीकरणको अवधारणाले केवल कुल गार्हस्थ्य उत्पादन वृद्धि होइन बरु जनताको जीवनस्तर, राष्ट्रिय क्षमता, सामाजिक स्थिरता र वातावरणीय सन्तुलनलाई विकासको आधार मानेको छ । सन् २०४९ मा जनवादी गणतन्त्र चीन स्थापनाको शतवार्षिकी मनाइँदै गर्दा चीनलाई पूर्ण रूपमा आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्य राखिएको छ । सन् १९४९ देखि २०२६ सम्मको ७७ वर्षको यात्रा र आगामी २३ वर्षको लक्ष्यलाई जोडेर हेर्दा चीनको विकास रणनीति दीर्घकालीन राष्ट्रिय दृष्टिकोणमा आधारित देखिन्छ । यस हिसाबले चीन अव विश्वकै महाशक्ति राष्ट्र बन्ने स्पष्ट आधार बन्दै गरेको देखिन्छ ।

नेपाली कम्युनिस्ट पार्टीले सिक्नुपर्ने पाठ
चिनियाँ कम्युनिस्ट पार्टीको पछिल्लो बैठक नेपाली कम्युनिस्ट आन्दोलनका लागि पनि अध्ययन र आत्मसमीक्षाको महत्त्वपूर्ण विषय बन्नुपर्छ । नेपालका कम्युनिस्ट पार्टीहरूले क्रान्ति, परिवर्तन, गणतन्त्र र सामाजिक न्यायका लागि ऐतिहासिक योगदान गरेका छन् । तर सत्ता र सरकारमा पुगेपछि जनअपेक्षाअनुसार सुशासन, आर्थिक समृद्धि, संगठनात्मक अनुशासन र राजनीतिक इमानदारी कायम गर्न नसकोमा आलोचना पनि उत्तिकै छ । नेपालका कम्युनिस्ट पार्टीहरूले चीनबाट पहिलो पाठ पार्टीभित्रको अनुशासन र आत्मसमिक्षाको संस्कार सिक्नुपर्छ । पार्टीको जिम्मेवारीमा पुगेका व्यक्तिले व्यक्तिगत सम्पत्ति, पद र शक्तिलाई होइन, जनताको हितलाई प्राथमिकता दिनुपर्छ । दोस्रो, भ्रष्टाचार र अनियमितताविरुद्ध शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्नुपर्छ । भ्रष्टाचारको आरोप लागेका आफ्ना नेता तथा कार्यकर्तालाई राजनीतिक संरक्षण दिने प्रवृत्ति अन्त्य हुनुपर्छ । तेस्रो, पार्टीभित्र जनवादी केन्द्रियता, सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको स्पष्ट व्यवस्था हुनुपर्छ । नेतृत्व चयनमा योग्यता, क्षमता, इमानदारी र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्छ । चौथो, पार्टीहरू केवल निर्वाचन र सत्ताको राजनीतिमा सीमित हुनुहुँदैन । उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, औद्योगिकीकरण र राष्ट्रिय अर्थतन्त्रको विकासमा ठोस कार्यक्रमसहित जनतामाझ जानुपर्छ र जनअनुमोदित पार्टी कमिटी र नेतृत्व बनाउनुपर्दछ । पाँचौँ, नेतृत्वमा पुस्तान्तरण, वैचारिक स्पष्टता र संगठनात्मक नविकरणलाई प्राथमिकता दिनुपर्छ । पार्टीभित्र आलोचना र आत्मालोचनालाई औपचारिकतामा सीमित नगरी व्यवहार परिवर्तनको माध्यम बनाउनुपर्छ ।
विधिको कार्यान्वयनमा सिपिसी
पार्टीको २१ औँ राष्ट्रिय महाधिवेशन सन् २०२७ को उत्तरार्धमा आयोजना गर्ने निर्णय गरेको बैठकले सी जिनफिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी विचारलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै पार्टीको आत्मसुधार, अनुशासन र संगठनात्मक सुदृढीकरणलाई निरन्तरता तथा पार्टीभित्रको अनुशासन, भ्रष्टाचार नियन्त्रण र संगठनात्मक सुधारलाई प्राथमिकतामा राख्दै आगामी महाधिवेशनको तयारी तथा समाजवादी आधुनिकीकरणको लक्ष्यलाई सँगसँगै अगाडि बढाउने सन्देश दिएको छ । चिनियाँ समाज र सिपिसीले प्राप्त ऐतिहासिक उपलब्धि जोगाउन संगठनलाई निरन्तर सुधार गर्नुपर्ने, अनुशासनसहितको संगठनमार्फत दीर्घकालीन राजनीतिक लक्ष्य हासिल गर्नु, भ्रष्टाचार, गुटबन्दी, अवसरवाद र व्यक्तिगत स्वार्थको विरुद्ध क्रान्तिकारी पार्टीको आधार बलियो बनाउने निष्कर्ष बैठकको छ ।

अन्त्यमा सी जिनपिङको नेतृत्वमा चीनले अघि बढाएको समाजवादी आधुनिकीकरण, राष्ट्रिय पुनर्जागरण र पार्टी स्वशासनको अभियान आज विश्व राजनीतिको महत्त्वपूर्ण अध्ययनको विषय र कोशेढुंगा हो । सीको नेतृत्वले चीनको पछिल्लो विकास यात्रालाई नयाँ गति र दिशा दिएको छ भने जनतासँगको सम्बन्ध, इमानदार नेतृत्व, कठोर अनुशासन, भ्रष्टाचारमुक्त संगठन र उत्पादनमुखी विकास नै कम्युनिस्ट आन्दोलनको भविष्य निर्माण गर्ने आधार हुन् भन्ने कुरा सी नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीले प्रमाणित गरेको छ । सत्ता प्राप्त गर्नु मात्र कम्युनिस्ट पार्टीको सफलता होइन बरु जनताको विश्वास कायम राख्नु, आफ्नो संगठनलाई शुद्ध र जिम्मेवार बनाउनु तथा राष्ट्रलाई समृद्धिको दिशामा अगाडि बढाउनु नै वास्तविक सफलता हो । समग्रमा सी जिनपिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीको अनुशासन, रूपान्तरण र समाजवादी आधुनिकीकरणमा अभुतपुर्व र उल्लेखनीय छलाङ मारेको छ ।





