अर्नब चक्रवातकाे असर : देशव्यापी वर्षा, शनिबार पनि वर्षा हुने

मूलखबर संवाददाता
काठमाडौं, १३ कात्तिक

बंगालको खाडीमा बनेको ‘अर्नब’ चक्रवातको असरस्वरूप बिहीबार रातिबाट देशभर पानी पर्ने प्रक्रिया सुरु भएको छ। त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा पानी पर्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वी नेपालमा भने साँझबाट पानी पर्न सुरु भइसकेको छ।

महाशाखाका अनुसार राति मधेशसँगै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा/हिमपातको आकलन गरिएको छ। लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

शुक्रबार र शनिबार भने वर्षा अझ विस्तार हुने आकलन छ। शुक्रबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिमका बाँकी भू–भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुने आकलन छ।
शुक्रबार राति भने देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशको थोरै स्थानमा भारी वर्षा तथा हिमपात सम्भावना छ।

शनिबार कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको चेतावनी दिइएको छ।