समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको गतिविधिप्रति आपत्ति

मूलखबर संवाददाता
काठमाडौं

प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमका समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको गतिविधिप्रति आपत्ति जनाएको छ । काउन्सिलले पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ ।

शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा सादा पोशाकका प्रहरीले प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ ।

समाचार कक्षबाट पत्रकार धरपकड र सञ्चारमाध्यममा सादा पोसाकका प्रहरी खटिएको विषयमा सत्ताधारी दल रास्वपाका प्रवक्ता जगदीश खरेलले यसको जवाफ नेपाल प्रहरीले दिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट रहेको र यो घटनालाई पार्टीले कसरी लिने भन्ने विषयमा छलफल गर्ने बताएका छन् ।

खरेलले भने, ‘सञ्चार गृहमा प्रहरी प्रवेश गरेको र पत्रकार नियन्त्रणमा लिएको बारे सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएका छौं । स्वतन्त्र पत्रकारिताको सम्मान गर्नैपर्छ, हाम्रो पार्टी स्वतन्त्र पत्रकारिताको पक्षमा छ । किन भयो ? के भयो ? भनेर नेपाल प्रहरीले जवाफ दिनुपर्छ ।

प्रकाशित समाचारलाई लिएर सोधपुछ गर्ने भन्दै सादा पोसाकमा रहेका प्रहरीले शुक्रबार नयाँ पत्रिका दैनिक, नेपाल प्रेस, दियो पोष्ट र मोटिभेट न्यूजको कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ र आतंकित पारेका छन् ।

उनीहरूले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएका छन् । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार समाचार कक्षमा काम गरिरहेका बेला सादा पोसाकमा आएका दुई प्रहरीले छलफलका लागि जानु पर्‍यो भनेर लिएर गएका छन् ।साइबर ब्युरोका एसपी दिपक अवस्थीले पनि सुवेदीसहित अरु केहीसँग  सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्यूरो ल्याइएको पुष्टी गरेका छन् ।

अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको थियो । सादा पोसाकमा खटिएका प्रहरीले अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न आएको बताएको दियो पोष्टका एक पत्रकारले बताएका छन् । कार्यालयमा प्रधानसम्पादक र समाचार संयोजक दुवैलाई फेला नपारेपछि उपत्यका अपराध महाशाखाबाट खटिएका प्रहरी फर्किएका थिए ।

यस्तै, बानेश्वरस्थित मोटिभेटन्यूज डटकमको कार्यालयबाट प्रहरीले सम्पादक शोभराज बराललाई पनि पक्राउ गरेको छ । मोटिभेटन्यूजले समेत आईजीपी दानबहादुर कार्की र फिक्सर इनम सापकोटासँग सम्बन्धित भिडियो सामग्रीहरू प्रकाशित गरेको थियो ।

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि पत्रकार नवराज मैनालीलाई खोज्दै सादा पोशाकमा प्रहरीहरू पुगेका थिए । उनीहरूले मैनालीलाई साइबर ब्यूरोमा लैजान आएको बताएका थिए । नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तका अनुसार कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका ४-५ जना प्रहरी आएका छन् ।