भ्रष्टाचारका फाइल खोल्दा निशानामा परिरहेका नारायणकाजी, ओली र देउवाको दबाब

मूलखबर संवाददाता
काठमाडौं

उपप्रधानमन्त्री रहेका माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ १७ चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हटी गृह मन्त्रालयको जिम्मेवारीमा आएका थिए । त्यसलगत्तै नारायणकाजी श्रेष्ठकाे प्रस्तावमा मन्त्रिपरिषद्‌ले २० चैतमा सुत्र परिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा उपप्रधानमन्त्री र गृहसचिवले खर्च गर्ने प्रणाली) खारेज गर्‍याे । नारायणकाजीकै अग्रसरतामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा असुल्ने गिराेहविरूद्ध नेपाल प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

यी दुई कामले कुरा सधैँ ठूला र आदर्शकाे गर्ने तर, माैका पाउँदा कुनै उपलब्धिमूलक काम देखाउन नसक्ने भनेर आलाेचित श्रेष्ठप्रति आशा जगाउन थालेको थियो। श्रेष्ठले अपराध गर्ने दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्ने बताएको केही दिनमै उनको भनाइ कार्यान्वयन भएको थियो । बालकृष्ण खाँण र टोप बहादुर रायमाझी लगायतका भिआइपी यतिबेला जेलमा छन्।

अहिले भने सुन प्रकरणमा प्रतिपक्षबाट निरन्तर आलोचना खेपिरहेका गृहमन्त्री श्रेष्ठ सत्ता गठबन्धनकै निसानामा पर्न थालेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण तथा ललिता निवास प्रकरणमा भइरहेका अनुसन्धानमा गृहमन्त्री श्रेष्ठको कार्यशैलीसँग सत्तापक्ष र प्रतिपक्ष दुवै सन्तुष्ट छैनन्।

गृहमन्त्रीमाथिको असन्तुष्टि पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा झल्कियो। गत आइतबार साँझ प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा गृहमन्त्रीमाथि कांग्रेस सभापति शेरबहादुर देउवा निकै असन्तुष्ट देखिए। शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र बालकृष्ण खाण र अन्य केही निकट व्यक्तिमाथि मुद्दा चलाइएपछि देउवा रुष्ट छन्। सोही प्रकरणमै थुनामा रहेका सन्देश शर्मासँगको संवाद देउवापत्नी आरजुको अडियोसँग मिलेको प्रहरीको सार्वजनिक वक्तव्य आएको थियो। त्यसपछि आरजुसमेत रुष्ट छिन्।

सभापति देउवा र गृहमन्त्रीबीच निकै असहज अवस्था बनेपछि रक्षामन्त्री खड्काले सहजीकरणको प्रयत्न गरेका थिए। गृहमन्त्रीमाथि शीर्ष नेता असन्तुष्टि यत्तिमै सीमित भएन। सोमबार रातिको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि श्रेष्ठलाई ‘अनावश्यक हिरो नबन्न’ चेतावनी नै दिए।

सुन प्रकरणलगत्तै विमानस्थलको निरीक्षणमा जाँदा श्रेष्ठले दिएको अभिव्यक्तिमा कटाक्ष गर्दै ओलीले पदमा रहने नैतिक आधार नभएको व्यक्तिले अनावश्यक प्रचारबाजी नगर्न भन्दै आलोचना गरे। श्रेष्ठले सुन प्रकरणमा ‘कुनै कोट वा टार’ पार्टीको व्यक्ति भए पनि दोषी देखिए कारबाही हुने बताएका थिए। ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ साउन ५ गते विमानस्थलको निरीक्षणपछि श्रेष्ठले बालकोट र बालुवाटार लक्षित अभिव्यक्ति दिएका थिए। सो प्रसंगसमेत निकाल्दै ओलीले श्रेष्ठको आलोचना गरेका हुन्।

बैठकमा सहभागी एक नेताका अनुसार ओलीले श्रेष्ठलाई सबैका कमजोरी आफ्नो जानकारीमा रहेको समेत बताएका थिए। ओलीको अभिव्यक्तिप्रति सम्मुखमा रहेका कांग्रेस सभापति देउवाले समेत समर्थन जनाएका थिए। प्रधानमन्त्री प्रचण्ड भने नारायणकाजी हटाउन तयार छैनन्। भ्रष्टाचारका फाइल खोल्दा पार्टीको साख राम्रो भएकाले बरू सत्ता छोड्ने तर यो अभियान नछोड्ने सन्देश प्रचण्डले पटक पटक दिइसकेका छन्।