देश विकास गर्न सरकार अग्रसर छौं  :उपप्रधानमन्त्री सिंह

मूलखबर संवाददाता
काठमाडौं, १७ फागुन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरू मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए ।

उनले नागरिकले सरकारकै सुनिश्चितता छैन कसरी देश विकास गर्छौ भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए ।

उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भएपनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपुर्‍याउने बताए । राजनीतिक स्थायित्व भएमात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरू अघि बढ्न सक्ने बताए ।

जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको उनले जिकिर गरे ।