
मधेसी समुदायको अधिकार, विकास र समृद्धिको निम्ति अन्तिमसम्म लड्छौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनसमुदायको निम्ति अन्तिमसम्म लड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तराई मधेश जागरण अभियानको क्रममा सिरहा जिल्लाको सिराह नगरपालिका स्थित सिराह बहुमुखी क्याम्पसको प्रांगणमामा आयोजित खबरदारी सभामा प्रचण्डले मधेसी समुदायको अधिकार, विकास र समृद्धिको लागि लड्ने एकमात्र पार्टी माओवादी नै भएको बताउनुभयो ।
सिरहाबाट आफूले निर्वाचन लडेको र जिताएकोमा प्रचण्डले सिरहाका जनतालाई धन्यवाद समेत दिनुभयो । उहाँले भन्नुभयो- तपाईहरुले मलाई यहाँबाट जिताएर प्रधानमन्त्री बनाउनुभयो त्यसले गर्दा नेपालमा संविधान बनाउन सम्भव भयो । प्रचण्डले सिरहाको लागि मात्रै होइन सिंगै तराईबासीको लागि हुलाकी राजमार्ग लाइफलाइन भएको बताउँदै आफ्नै पहलमा हुलाकी राजमार्गको निर्माणले गति लिएको बताउनुभयो ।
उहाँले अलपत्र परेको हुलाकी राजमार्गलाई आफ्रनै पहलमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेर बनाउन सम्भव भएको जानकारी दिनुभयो । उहाँले अब बाँकी रहेको राजमार्ग र अन्य सडक तथा पुलहरुको निर्माणमा पनि आफूले निरन्तर खबरदारी र पहल गर्ने बताउनुभयो ।
उहाँले मिटरब्याजी पीडितको पक्षमा लड्ने र न्याय दिने पार्टी पनि माओवादी नै भएको बताउँदै आफ्ने नेतृत्वको सरकारले शुरु गरेको र आधा भन्दा वढि काम भएको मिटर व्याजी पीडितको न्यायको विषय अहिलेको सरकारले रोकेको बताउँदै सरकारलाई तत्काल मिटर व्याजी पीडितको समस्या समाधानमा लाग्न सरकरालाई चेतावनी पनि दिनुभयो ।
उहाँले मधेसी जनताको अधिकार विकास र समृद्धिको चाहना पुरा गर्न २०८४ सालमा हुने आम निर्वाचनमा माओवादीलाई मत दिन पनि अपील गर्नुभयो ।
कार्यक्रममा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, पम्फा भुषाल, देवप्रसाद गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, मातृका यादव, महिन्द्रा राय यादवलगायतका मधेसी नेताहरु लगायतका नेताहरू सहभागि रहेका थिए ।
