
उखु किसान झन समस्यामा : डेढ अर्ब भुक्तानी बाँकी
विष्णु गाउँपालिका १ बाराउधोरणका कृषक अजित सिंहले कृषि पेसाबाटै आएको आम्दानीले १४ जनाको परिवार पालनपोषण गर्नुपर्छ । तर, पछिल्लो समय उनी खेतीबाट पलायन हुने अवस्थामा पुगेका छन् ।
दुई वर्षदेखि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र गत वर्षको बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा उनी खेतीबाट पलायन हुने अवस्थामा पुगेका हुन् ।
सिंहले परार साल अन्नपूर्ण चिनी उद्योगमा १ हजार ७ सय क्विन्टल उखु बिक्री गरे । यसको ९ लाख ५० हजार भुक्तानी बाँकी नै छ । गत वर्ष पनि उनले ६ सय क्विन्टल उखु बिक्री गरे । यसको ३ लाख २० हजार गरी १२ लाख ७० हजार भुक्तानी पाउनुपर्ने बाँकी छ ।
अन्नपूर्णले दुई वर्षको भुक्तानी बाँकी राखेपछि उनले गत वर्ष बगदहमा नयाँ स्थापना भएको महालक्ष्मी चिनी उद्योगमा १ हजार ५ सय क्विन्टल उखु बिक्री गरे । तर महालक्ष्मीमा पनि उनको ७ लाख ५० हजार रुपैयाँ बाँकी नै छ ।
दुई वर्षको भुक्तानी नपाउँदा उनलाई घर–व्यवहार चलाउन सकस छ । गत वर्ष छोराले एसईईमा राम्रो अंक ल्याएपछि ११/१२ पढाउन उनले बैंकबाट ऋण लिनु परेको थियो । भएको आम्दानी उद्योगीले राख्ने र खर्च बढदै गएपछि उनको तनाव बढदै गएको थियो । यही तनावका कारण उनी बिरामी परे ।
सिंह एक महिनादेखि काठमाडौंमा उपचाररत छन् । उपचार पनि साहुसँग चर्को व्याजमा ऋण लिएर गराइरहेका छन् । यता आफूले लिएको ऋणको व्याज बढदै जाँदा र उद्योगमा उखु बिक्री गरेको भुक्तानी नपाउँदा उनी छटपटाइरहेका छन् ।
भुक्तानीका लागि पटक–पटक ताकेता गर्दा पनि उद्योगी र सरोकारवाला पक्षले सुनुवाई नगरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । ४५ दिनपछि भुक्तानी दिने सहमति जनाएका उद्योगले चार महिनादेखि झुलाइरहेको उनको आरोप छ ।
‘पटक पटक ताकेता गर्दा पनि उद्योगीले हाम्रो कुरा सुनेको छैन, जसका कारण किसान मारमा परेका छन्, उनीहरूलाई घर(व्यवहार धान्नै मुस्किल परेको छ,’ उनले भने । महासंघका अध्यक्ष मैनालीका अनुसार अन्नपूर्ण चिनी उद्योगबाट अहिलेसम्म झन्डै ५२ करोड, महालक्ष्मी चिनी उद्योगबाट ४९ कारोड र इन्दुशंकर चिनी उद्योगबाट करिब ५० करोड रुपैयाँ किसानले भुक्तानी पाउन बाँकी छ । अन्नपूर्णले विगतमा पनि भुक्तानी गर्न आलटाल गर्दै आएको किसानको गुनासो छ ।
नगदे बाली भनिएको उखु काट्ने बेलामा नगदमा बिक्री हुँदैन, उधारोमा चिनी मिललाई बुझाउनु पर्छ । उधारोमा बिक्री गरेको उखुको भुक्तानीका लागि उद्योगीले विभिन्न बहाना बनाई आलटाल गर्दै आएको किसानको आरोप छ । पहिला मूल्य तय नभएको भन्दै उद्योगीले भुक्तानीमा आलटाल गर्थे ।
अहिले चिनी बिक्री नभएको बहाना बनाउँदै भुक्तानीमा किचलो गरेको किसानको गुनासो छ । सिंहले दुखेसो पोख्दै फोनमा भने, ‘उद्योगले बहाना बनाई आलटाल गर्दै गर्दा हाम्रो बिचल्ली भएको छ । सिंहले उखु खेतीबाट म लगायत यस क्षेत्रका किसान पलायन हुने अवस्थामा पुग्दा समेत सरकार मूकदर्शक बनेको आरोप लगाए ।
सिंह जस्तै यहाँका अधिकांश किसानको अवस्था उस्तै छ । किसानहरू परिश्रमको मूल्य पर्खिंदा पर्खिंदै ऋणको बोझमा डुब्दै गएका छन् । चाडवाड सुरु हुन लाग्दा पनि उद्योगबाट भुक्तानी नपाउँदा खर्च जुटाउन धौ(धौ परेको किसानको दुखेसो छ । भुक्तानीका लागि उद्योगमा तालाबन्दी, अनशन र जिल्ला प्रशासनमा ज्ञापनपत्र पनि बुझाइसकें तर कतै पनि सुनुवाइ नभएको धनगढाका किसान लक्ष्मण रायले गुनासो गरे ।
‘चाडपर्वमा खर्च जुटाउन र घरव्यवहार धान्न मुस्किल परेको छ, खेती गर्दा लागेको ऋण अझै बाँकी नै छ,’ उनले भने, ‘फाइदाका लागि उखु खेती गरेको पीडा मात्र थपियो ।’ उनले रकम अभावकै कारण यस वर्ष गोडमेल र मल हाल्न नपाएका कारण उखु फस्टाउन नसकेको बताए ।
चिनी उद्योगी र किसान प्रतिनिधिबीच गत वर्षको उद्योग सञ्चालन अघि गत पुस अन्तिम साता बर्दिवासमा भएको वार्तामा उखु खरिद गरेको ४५ दिनभित्र भुक्तानी दिने सहमति भएको थियो । तर, उखु क्रसिङ सकेर उद्योग बन्द भएको चार महिना बित्दा समेत किसानले भुक्तानी नपाएको भन्दै किसान नेता असन्तुष्ट भएका छन् ।
उद्योग सञ्चालनका बेला किसानसँग भएको सहमति उद्योगीले एकपक्षीय रूपमा उल्लंघन गरेको नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीको आरोप छ । उनले चिनी मिल सञ्चालकले विभिन्न समस्या खडा गरेर भुक्तानी आलटाल गर्न खोजेको गुनासो गरे ।
गत वर्ष भदौ २२ गते बालुवाटारमा भएको छलफलमा उपस्थित भएका चिनी उद्योगीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले १५ दिनभित्र किसानलाई उखुको भुक्तानी दिन निर्देशन दिएका थिए । यस्तै गत असोज २२ गते उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवको संयोजकत्वमा बसेको बैठकले ५ दिनभित्र उद्योगले उखुको भुक्तानी दिने निर्देशन दिँदै नदिए कारबाहीका लगि अनुरोध गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीले तथा मन्त्रीले दिएको निर्देशन १ वर्ष बित्दा समेत उद्योगीले टेरेका छैनन् । उद्योग मन्त्री पछिल्लो तीन महिनामा दुई पटक जिल्लामा आएर किसानलाई अश्वासन मात्र बाँडे । उनले उद्योगीलाई कारबाही गर्ने धम्कीसँगै भुक्तानी नदिए आफैंले आन्दोलन थाल्ने चेतावनी दिँदा समेत किसानले भुक्तानी पाउन सकेका छैनन् ।
