कांग्रेसको तरुण दल लमजुङमा खुकुरी हानाहान, ४ घाइते

मूलखबर संवाददाता
लमजुङ, ३ जेठ

सत्तारूढ दल नेपाली कांग्रेस निकट तरुण दल लमजुङमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। पार्टी भित्रको नेतृत्व विवाद र व्यक्तिगत मनमुटावले उग्र रूप लिँदा शनिबार  बेसीसहरमा दुई गुटबीच खुकुरी प्रहार भएको हो।

स्थानीय स्रोतका अनुसार, तरुण दलका जिल्ला अधिवेशनमा सहभागी भएका दुई नेता टकराज गुरूङ र भेषबहादुर पाैडेल पक्षबीच सदस्यता विवाद देखिएकाे थियाे ।   वाकयुद्धले झगडाको रूप लिएपछि गुरूङ पक्षले खुकुरीबाट आक्रमण गरेको हो। झडपमा चार जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूलाई चितवन रिफर गरिएको छ ।

संस्थापन पक्षका युवाहरूले इतर पक्षका युुवामाथि खुकुरी प्रहार गरेको सहभागीहरूले बताएका छन् । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनुभएको छ ।

घाइतेमध्ये नेविसङ्घका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाइतेको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ र कांग्रेस लमजुङका पूर्व सभापति समेत रहनुभएका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर पौडेल पक्षधर युुवाहरूबिचको टसलले घटना निम्तिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

संस्थापन रहेका गुरुङ पक्षधरले तरुण दलमा मनलाग्दी तरिकाले पूर्णकालीन सदस्यलाई हटाउने, प्रतिनिधि छनाेट गर्ने गरेको विषयमा विरोध जनाउँदा खुकुरी प्रहार भएको घाइते किशोरजङ्ग बस्नेतले बताउनुभयो ।

तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहनुभएका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, भीम गुरुङ, बेँसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकेदिएको भन्दै इतरपक्षले उद्घाटनसत्रमा प्रश्न उठाएको थियो ।

घटनास्थलमा तत्काल प्रहरी परिचालन गरिएको थियो। लमजुङ प्रहरी प्रमुख डिएसपीका अनुसार झगडामा संलग्नहरूलाई नियन्त्रणमा लिन खोज्दा केही भाग्न सफल भएका छन् भने केही पक्राउ परिसकेका छन्।

स्थानीय स्तरमा क्रियाशील तरुण दलको यो घटनाले कांग्रेस पार्टी भित्रको अनुशासन र युवा संगठनको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको छ। पार्टी नेताहरूले तत्काल घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

पार्टी केन्द्रले यस विषयमा स्पष्टीकरण माग्ने तयारी गरिरहेको स्रोतले जनाएका छन्।