
पूर्वनिर्धारित भेटघाटका लागि सिंहदरबार प्रवेश गर्न खोज्दा रोकियो : मिटरब्याजीपीडित
मिटरब्याजीपीडितले सरकारी अधिकारीहरूसँगको पूर्वनिर्धारित भेटघाटका लागि सिंहदरबार प्रवेश गर्न खोज्दा रोकिएको गुनासो गरेका छन् ।
मिटरब्याजविरुद्ध आन्दोलनरत किसान तथा मजदुरहरूले सरकारी अधिकारीहरूसँगको पूर्वनिर्धारित भेटघाटका लागि सिंहदरबार प्रवेश गर्न खोज्दा रोकिएको गुनासो गरेका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको सचिवालयसँग सोमबारका लागि तय गरिएको बृहत् भेटवार्ताका लागि व्यवस्थापन गर्न प्रतिनिधि टोली आइतबार दिउँसो २ बजे सिंहदरबार परिसर पुग्दा प्रवेश नदिइएको मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन नेपालका प्रवक्ता निर्ग नवीनले बताए ।
प्रवक्ता नवीनका अनुसार आयोगसँग भेटघाटका लागि कार्यालय सहयोगी अजय कार्की, सचिवालय सदस्य आदित्य राम र विशाल राणा क्षेत्रीसहित चार जना सिंहदरबार गएका थिए । त्यसका लागि आयोगले सिंहदरबार प्रवेशका लागि गेटमा पास पठाइदिएको थियो । तर उनीहरूलाई गेटमै रोकिएको नवीनले बताए । ‘यसपछि हामीले आयोगमा खबर गर्यौं, यसबारेमा गृहमा खबर गर्नुस् भनेपछि गृह प्रवक्तालाई सातपल्ट फोन गर्दा पनि रेसपोन्स आएन,’ प्रवक्ता नवीनले भने, ‘सिंहदरबारभित्र प्रवेश गर्न नदिएर आयोगसँगको भेटघाट प्रभावित पार्न खोजिएको छ, मिटरब्याजपीडितका समस्यालाई गिजोल्न खोजिएको छ ।’
गृहका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले भने परिचय खुल्ने कागजात नभएका कारण समस्या भएको बताए । ‘उहाँहरूलाई भित्र पस्ने पासै नदिइएको होइन, उहाँहरूसँग परिचयपत्र नै साथमा नभएकाले हो,’ उनले भने, ‘मलाई ४ बजेतिर जानकारी आएको थियो, यो त प्रश्नै होइन किनभने परिचय नभईकन को छिर्न लागेको हो भनेर थाहै पाइँदैन नि होइन र, कार्डबिना त जान मिलेन ।’
मिटरब्याजीपीडित आन्दोलन नेपालका प्रवक्ता नवीनले भने गृह मन्त्रालयमा यसअघिका छलफलमा भाग लिन जाँदा पनि कतिपय पीडितसँग नागरिकता नभएको तर त्यतिबेला मन्त्रालयले नै सहजीकरण गरेको बताए । ‘यसपालि संवाद गर्न नदिने निहुँ बनाएका मात्रै हुन्,’ उनले भने, ‘भोलिको भेटघाटमा ५ वा १० जना मात्रै छिर्न दिने जानकारीमा आएको थियो, आजसम्म देशभरिबाट ३३ जना आउनुभएको छ, सबैलाई छिर्न दिनुपर्छ भन्ने हाम्रो माग हो, त्यसैको व्यवस्थापनका लागि साथीहरू आज जाँदा प्रवेश निषेध गरिएको हो ।’ यो खबर कान्तिपुरमा छ ।