राजधानीबाटै चितुवा र ध्वाँसेको छालासहित तीन पक्राउ
काठमाडौँ, १७ जेठ । केन्द्रीय अनुसन्धान ब्युरोले चितुवा र ध्वाँसेको छालासहित तीन जनालाई राजधानीबाटै पक्राउ गरेको छ ।
प्रहरी कार्यालयका अनुसार ब्युरोबाट खटिएको टोलीले हिजो दुर्लभ वन्यजन्तु चोरी गरी बेच्न लगेको अवस्थामा बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका रुपबहादुर तामाङ, सुरेश तामाङ र धादिङका कुलबहादुर घले रहेका छन् ।
दुर्लभ वन्यजन्तु गैरकानुनी रुपमा ओसारपसार गर्न नपाइने साइटिस महासन्धि १९७५ लाई उलङ्घन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट प्रहरीले चितुवा र ध्वाँसे चितुवाको तीन थान छाला बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाएको प्रहरीले जनाएको छ ।