बढ्ला त कर्मचारीकाे तलब ? यस्तो छ सरकारकाे गृहकार्य

मूलखबर संवाददाता
काठमाडौं, ३० बैसाख

आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।

यसअघि सरकारले आव २०७९/८० मा सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । निजामती सेवा ऐन अनुसार हरेक तीन/तीन वर्षमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने नियम छ । आगामी आव २०८२/८३ मा कर्मचारीको तलब वृद्वि गर्ने वर्ष भएकाले सरकारले कर्मचारीको तलब वृद्विका लागि आन्तरिक गृहकार्य गर्ने भएको हो ।

उच्चस्तरीय तलब सुझाव आयोगले दुई वर्षअघि तलब दिने निकायको क्षमता अभिवृद्धि गरी कर्मचारीको जीवन निर्वाह गर्न पुग्ने आवश्यक तलब दिनुपर्ने व्यवस्थासहित प्रतिवेदन सरकारलाई बुझाएको थियो । सरकारले गत वैशाख १९ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्बाट पारित भएसँगै अहिले सरकार बजेट निर्माणको गृहकार्यमा जुटेको छ ।

नेपाल सरकारका मुख्य सचिव एकनारायण आर्यालले कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको आर्थिक अवस्था हेरेर कर्मचारीलाई सेवाप्रति उत्साह प्रदान गर्न तलब वृद्धि गर्ने सवालमा हामी छलफलकै क्रममा छौँ, अहिले नै भन्न सक्ने स्थिति छैन ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले राज्यको स्रोत साधनले भ्याएसम्म कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बताउनुभयो । पन्थले भन्नुभयो, “आगामी आर्थिक वर्ष कर्मचारीको तलबको पुनरवलोकन गर्ने समय हो, स्रोतलाई हेरेर राज्यले निर्णय गर्नुपर्ने हुन्छ ।”

यद्यपि नेपालकाे बजेट हेर्दा साधारण खर्च अत्यधिक बढिरहेको र पुँजीगत खर्च बढ्न नसकेकाे कारणले विकास द्रुत गतिमा हुन नसकेको अवस्था छ । स्थायी प्रकृतिको कर्मचारी संयन्त्रका कारणले विकासमा बाधा खडा भइरहेको गुनासाे सर्वसाधारणको रहेकाे छ ।