
राजावादी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
कथित राजावादी आन्दोलनका नाममा गुण्डागर्दी र आततायी गतिविधिमा संलग्न भई प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंविरुद्ध दुवै कसुरमा अनुसन्धान सुरु गरेको हो । सीआईबीले सोमबारदेखि उनीसँग बयान थालेको छ ।
प्रसाईं चैत १५ को तीनकुने घटनाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरबाट झिकाएर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर प्रारम्भिक बयान सुरु गरेको हो । उनीविरुद्ध सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण, राष्ट्र बैंक ऐन र त्यससँग सम्बद्ध बैंकिङ कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।
मेडिकल कलेजसहित विभिन्न व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको कर्जा दुरुपयोग र त्यसकै आडमा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकले उनीमाथि अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । गत कात्तिक अन्तिम साता र माघ २३ मा पत्र पठाउँदै राष्ट्र बैंकले प्रसाईं सम्बद्ध कारोबारको अनुसन्धान गर्न भनेको थियो । यसबाहेक आपराधिक समूह लगाएर प्रसाईंले व्यापारी तथा बैंक सञ्चालकलाई धम्क्याएको आरोपमा सीआईबीमा जाहेरी परेको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले राष्ट्र बैंकको पत्र र पीडितबाट परेका जाहेरीका आधारमा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढेको बताए । चैत १७ मा उच्च अदालत पाटनले प्रसाईंलाई पक्राउ अनुमति दिएको खबर कान्तिपुरमा छ ।