प्रकाण्डलाई काठमाडौंबाट हटायो विप्लव माओवादीले, उपव्युरो खारेज र संगठनात्मक व्यापक हेरफेर
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका व्युरोबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई हटाउने लगायतका महत्वपूर्ण सांगठनीक हेरफेर गर्ने निर्णय गरेको छ । साथै यही चैत २४ लाई प्रतिरोधात्मक धक्काको रूपमा मनाउने निर्णय गरेको छ ।
लुम्बिनी क्षेत्रमा बसेको केन्द्रीय समितिको बैठकबाट सो पार्टीले यस्तो निर्णय गरेको हो । तीन दिन चलेको केन्द्रीय समितिको बैठकले पार्टीका उपब्यूरोहरू सबै खारेज गरेको बताइएको छ । पार्टी स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई आर्थिक लगायतका विविध विषयमा पटक पटक विवादमा समेत तानिएपछि विप्लव माओवादीले उनलाई उपत्यका व्युरोबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए । प्रकाण्डलाई उपत्यका विशेष ब्यूरोका इन्चार्जबाट पार्टीको नीति निर्माणको जिम्मेवारी दिइएको छ । जुन कार्यकारी पद होइन । उनी उनको ठाउँमा पोलिटब्यूरो सदस्य सन्तोष बुढा मगरलाई जिम्मेवारी दिइएको छ । बुढा यसअघि जनसरकार प्रमुख थिए ।
त्यसैगरी अर्का पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनलाई सेतीमहाकालीबाट सरुवा गरेर जनकपुर ब्यूरोको जिम्मेवारी दिइएको छ । त्यस्तै भेरी कर्णालीबाट सरुवा गरेर पोलिटब्यूरो सदस्य भरत बमलाई ताम्सालिङ ब्यूरो इन्चार्ज तोकिएको छ । सेती महाकालीमा शरदसिंह भण्डारी र भेरीकर्णालीमा कृष्ण धमलालाई जिम्मेवारी दिइएको छ । त्यस्तै केन्द्रीय सदस्य माइला लामालाई काठमाडौं, आजाद लाई ललितपुर, टेकबहादुर बलम्पाकीलाई सांस्कृतिक मोर्चाको जिम्मेवारी दिइएको छ ।
बैठकले देशभक्त, जनतान्त्रिक, आमूल परिवर्तनकारी शक्तिहरूका बीचमा क्रान्तिकारी ध्रुबीकरणमा जोड दिएको छ ।