
टेरामक्स प्रकरणमा मुद्वा दायरपछि सांसद बस्नेत निलम्बनमा, काे काे परे ?
टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एण्ड फ्रर्ड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा अनियमितता भएको औल्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि प्रतिनिधि सभा सदस्य माेहन बस्नेत निलम्बनमा परेका छन् ।
आयोगको केन्द्रीय कार्यालय टंगालले बिहीबार विशेष अदालतमा १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।
तर, यस सम्बन्धी औपचारिक प्रतिक्रिया जानकारी पाएपछि मात्रै दिइने संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार टेरामक्स खरिद प्रकरणमा परामर्शदाता छनोट गर्दा नै योग्यता नपुग्ने प्रस्तावको गलत प्रतिवेदन तयारी गरी छनोट गरेर ठूलो रकम घोटाला भएको छ । जसअनुसार प्रतिवादीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।