अन्ततः एमालेमा इश्वर पाेखरेलले राखे फरक मत, `विद्या भण्डारीलाई सदस्यता राेक्नु पुर्वाग्रह मात्र´
अन्ततः सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन्।
यसअघि फरक मतकाे तयारीबारे मुलखबरले समाचार प्रकाशित गरेको थियाे ।
एमाले भित्रकाे विवाद भुसको आगो झैं सल्कीँदै, फरक प्रतिवेदनको तयारीमा पाेखरेल समुह
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५५औं सचिवालय बैठकमा उनले फरक मत दर्ज गरेका हुन्। उनले उक्त फरक मतमा विधानको धारा ७८ (१) अनुसार छलफलको मागसमेत गरेका छन्। एमालेमा विधिवत आएको फरक मतमाथि छलफलको माग भए गराउनुपर्ने वैधानिक व्यवस्था छ।
एमालेले भने शुक्रबारबाट सुरू हुने विधान महाधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल नगर्ने बताइसकेको छ।
‘नेकपा एमाले केन्द्रीय कमिटीको नवौं बैठक (५–६ साउन २०८२) मा पूर्वराष्ट्रपति तथा पूर्वकेन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी राजनीतिमा प्रवेश तथा पार्टी सदस्यता सम्बन्धमा भएको छलफल तथा त्यहाँ स्वाभाविक नलाग्ने वातावरणमा सुनाइएको निर्णय सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्न चाहन्छु। यो मेरो आफ्नो मत पनि हो र त्यसै रूपमा यसलाई बैठकसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ पोखरेलले फरक मतमा भनेका छन्।
२०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नवीकरण गरिएको भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णय केन्द्रीय कमिटी बैठकमा सुनाइएको उनले बताए। त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारितालाई बढावा दिने उनको भनाइ छ।
‘यो राजनीतिक पूर्वाग्रहको एउटा गम्भीर दृष्टान्तका रूपमा उल्लेख हुनसक्छ। लोकतन्त्रका विश्वव्यापी मान्यता तथा अभ्यास, नेपालको संविधान तथा प्रचलित कानुनअनुसार कुनै पनि नागरिकको राजनीतिक अधिकारमाथि बन्देज लगाउन मिल्दैन। हाम्रो विधान र पार्टीले लामो समयदेखि अवलम्बन गर्दै आएको लोकतान्त्रीकरण अभ्यासले पनि यस्तो कुरा स्वीकार गर्दैन,’ पोखरेलले भनेका छन्।




