अब सरकारको गियर बदल्ने प्रचण्डको योजना, निर्वाध सहयोगको मुडमा एमाले

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा दाहालले १५७ जना सांसदको विश्वास पाए ।

जम्मा २६८ सांसदले भोट हालेका थिए । दाहालको पक्षमा १५७ मत र विपक्षमा ११० मत परेको छ । एकजना तठस्थ बसेका थिए । विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्थ्यो । उनलाई एमाले, रास्वपा, जसपा, नेकपा एस र नाउपाले समर्थन गरेका छन् ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिएका हुन् । योसहित प्रधानमन्त्री दाहालले ले तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको प्रचण्डले बताएका छन्। विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए।

यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समिकरणसहित विश्वासको मत पाउदाको अनुभव अझ बढि लोकतान्त्रिक ढंगले सजिव रहेको जिकिर गरे।

उनले आफुप्रति भरोसा गरेर मत दिनेलाई धन्यवाद दिदै विपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस भन्नेलाई पनि धन्यवाद दिए। उनले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन्।

प्रचण्डलाई निर्वाध सहयोग गर्ने मुडमा एमाले

नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने बताए ।

‘अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन । वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरिसकेको छ’, उनले भने, ‘सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको हो ।’

वर्तमान सरकारले नै मुलुकमा देखिएका समस्या हल गर्ने भट्टराईको दाबी छ । उनले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउन कुनै दाबीसमेत नगरेको जिकिर गरे ।

‘१५-१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि छैन’, भट्टराईले भने, ‘धेरै कुरामा त्याग गरेर नयाँ समीकरण बनेको छ । पदभन्दा पनि समीकरणलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने हो ।’

एमाले–माओवादीबीच उच्च तहमा जुटेको दुवै पार्टीका नेताहरू स्वीकार गर्छन्। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पछि नहट्ने गरी सहमति जुटेको ठोकुवा गरे।

एमाले अध्यक्ष ओली यसपटक माओवादीसँग लचक छन् । उनी यसपटक प्रचण्डलाई निर्बाध काम गर्न दिने भन्दै शक्ति बाँडफाँटमा पर्याप्त उदारता देखाएको छन्। ६ वर्षअघि हतारमा एकता गरेर पछुताएका एमाले–माओवादी फेरि एक बन्न सत्तायात्राबाट कोसिस गरिरहेका छन्। विच्छेदको घाउले माओवादी र एमाले नेतृत्वमा पर्याप्त पीडाबोध गराएको छ।

‘यसअघि तैरिएर सहयात्रा गरियो तर अहिले एकदम गहिराइमा पुगेर गरेका छौँ,’ बर्तौलाले मूलखबरसँग भने, ‘अब यसबाट फिर्ता नहुने गरी गरिएको सहयात्रा हो।’

एमाले अध्यक्ष ओलीका विश्वासपात्र बर्ताैलाले शीर्ष तहमा जुटेको सहमतिबारे जानकार रहेको दाबी गरे।