रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न म्याद थपियाे

मूलखबर संवाददाता
पाेखरा, ९ मंसिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि हिरासतमा राख्नेगरी १५ दिनकाे म्याद थिपएकाे छ ।  आज अदालतमा उपस्थित गराइ सरकारी वकिलकाे माग अनुसार नै पुनः म्याद थप गरिएको हाे । पटक पटक म्याद थप गरि कास्की प्रहरी हिरासतमा राखिएका उनलाई आज फेरि अदालत लगिएको थियाे।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हाे ।

आइतबार न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि १५ दिनको अनुमति दिएको हो ।

लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित गराइएको थियाे ।

उनी विरूद्व कास्की, रूपन्देही, काठमाडौं र चितवनमा समेत पक्राउ पुर्जी जारि गरिएको छ ।