उपनिर्वाचन हुने स्थानिय तहमा विदा दिन निर्वाचन आयाेगकाे सिफारिस
आगामी मंसिर १६ गते हुन लागेकाे उपनिर्वाचनकाे क्रममा सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयाेगले सिफारिस गर्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गराउन मतदान हुने दिन सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई लेखी पठाउने निर्णय गरेको हो ।
मतदानस्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठादन वा अन्य सार्वजनिकस्थलहरू मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिने आयोगले निर्णय गरेको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।