कांग्रेस महासमितिको मुख्य चिन्ताः माओवादी-एमाले फेरि नजिकिन सक्छन्

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदै छ । बैठकको तेस्रो दिन हिजो बुधबार नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले दिएको जानकारीअनुसार मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेका थिए ।

कांग्रेसमा यतिबेला सबैभन्दा बहसको विषय बनेको छ अबको चुनावमा गठबन्धन गर्ने कि नगर्ने। महामन्त्री गगन थापाले महासमितिको बैठकमा अब उप्रान्त चुनावी गठबन्धन नगर्ने प्रस्ताव राखेपछि सत्तारुढ गठबन्धनमा आशंका बढेको छ । बैठकमा प्रस्तुत पाँच प्रस्तावमाथि छलफल भइरहे पनि महामन्त्री थापाको गठबन्धनबारे प्रस्तावमाथि बहस धेरै भइरहेको छ ।

कांग्रेसको देउवाविरोधी खेमा अहिलेको सत्ता गठबन्धन छिटोभन्दा छिटो भत्काउन चाहन्छ । डा. शेखर कोइरालाले खुलेरै सत्ता समीकरण राखिराख्न उचित नहुने बताएका छन् ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, युवा नेताहरू प्रदीप पौडेलसहितले खुलेर सरकारको विरोध गरेका छैनन्, तर प्रभावकारिता देखाउन नसके कांग्रेस सरकारमा बसिहरहनुको औचित्य नभएको बताइरहेका छन् ।

सहजै सत्ता हस्तान्तरण भएर देउवा प्रधानमन्त्री बने उनले २०८४ को चुनावअगाडि कांग्रेसको १५ औं महाधिवेशन नगर्ने बुझाइ उनीहरूको छ । सत्ता र शक्तिमा हुँदा देउवाले महाधिवेशन गराए आफैं हावी हुने र चुनावमा आफू अनुकूल टिकट बाँड्ने परिस्थितिप्रति पनि कांग्रेसको संस्थापनइतर पक्ष सचेत देखिएको छ ।

यद्यपि यो गठबन्धनको निरन्तरताको पक्षमा कांग्रेसको संस्थापन इतर पक्ष छैन,तर यसलाई तोड्ने सामर्थ्य भने राख्दैन।

माओवादी पनि आक्रोशमै

माघ २९ गते सोमबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले पटक–पटक कोशीमा धोका दिएको भन्दै कांग्रेससँगको सहकार्यका विषयमा गम्भीर विमर्शको खाँचो औंल्याएका थिए ।

‘कांग्रेसले शुरूबाटै हामीलाई धोका दिएको छ । हामी ५४ सीटबाट ३२ मा झर्‍यौं । हामीले इमान्दारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन्,’ प्रचण्डले भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुपर्‍यो । कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ । राजनीतिकरूपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन । यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका निम्ति विचारणीय प्रश्न हो ।’

प्रचण्डले शान्ति प्रक्रिया नटुंगिएको भन्दै तत्काल गठबन्धन नटुट्ने पनि बताएका थिए । तर, प्रचण्डको यो अभिव्यक्तिले कांग्रेस नेतृत्वमा खैलाबैला नै मच्चिएको नेताहरू बताउँछन् । उनको अभिव्यक्तिलगत्तै देउवाले उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई बालुवाटार पठाएर प्रचण्डको कुरा बुझ्न लगाए । प्रचण्डले खड्कालाई पार्टी नेताको आक्रोश र असन्तुष्टिलाई साम्य पार्न आफूले त्यस्तो अभिव्यक्ति दिएको भन्दै आश्वस्त पार्न खोजेका थिए । तर, कांग्रेस नेताहरू प्रचण्डको यो अभिव्यक्तिपछि धेरै झस्किएका छन् ।

‘गठबन्धनको प्रधानमन्त्रीले कार्यकर्तालाई थामथुम पार्न मात्रै यसरी बोल्नुभएको भन्ने लाग्दैन,’ कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘प्रचण्डले कांग्रेसको महासमितिपछि सरकार सहजै चलाउने, मन्त्री फेर्न पाउने र राष्ट्रिय सभामा सहजता महसुस गर्ने अवस्था नबने परिस्थिति हाम्रो अनुकूल नहुन पनि सक्छ ।’

प्रचण्डपछि आलोपालोमा प्रधानमन्त्री कुरिरहेका देउवा प्रचण्डलाई भड्काउने मनस्थितिमा देखिएका छैनन् । तर, देउवाले परिस्थितिलाई सम्हाल्न खोज्दाखोज्दै पनि स्थिति उनको नियन्त्रणबाट टाढिँदै जाने संकेत कांग्रेस महासमिति बैठकले गरेको छ ।

एकातिर प्रधानमन्त्री नै कांग्रेस संस्थापनको अडानबाट आक्रान्त छन्, अर्कातिर कांग्रेसको महासमितिमा सत्ता गठबन्धनको खुलेर विरोध मात्रै भएको छैन, महामन्त्री गगन थापाले ल्याएको सांगठनिक प्रस्तावमा चुनावी तालमेल र गठबन्धनको उछित्तो काडिएको छ ।

नेताहरूले सीट बढे पनि मत प्रतिशत घटेको, सरकारमा कांग्रेस भएको बोध गराउन नसकेको भन्दै सरकारप्रति कटाक्ष गरिरहेका छन् । थापाको अडानपछि देउवा कांग्रेस एक्लै चुनाव लड्ने प्रस्ताव महासमितिमा ल्याउन दिन सहमत भएका छन् ।

सोमबार दिउँसो महासमिति बैठक उद्घाटन गर्दै देउवाले चुनावी तालमेलको विषय तत्कालीन परिस्थितिमा भर पर्ने भएकाले अहिले यसबारे केही नबोल्ने अडान लिएका थिए । तर त्यसै दिन रातिसम्म आफ्नै निवासमा भएको बैठकमा देउवा थोरै भाषा संशोधन गरेर थापाको प्रस्ताव मान्न तयार भए ।

थापाको प्रस्ताव प्रस्तुत हुँदा गठबन्धनमा असर नपर्ने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पार्न देउवा त्यसै दिन उपसभापति खड्कासँगै प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए ।

देउवाले आश्वस्त पार्न खोजे पनि अरू परिस्थितिको लेखाजोखा प्रचण्डले राम्रैसँग गरेका हुन सक्छन्, किनकि फेरि एमालेसँग मिल्दा हुने अर्को चुनावको फाइदा मात्रै होइन, आफ्नो सत्ता पाँचै वर्षसम्म तन्किने विश्वास पनि उनको हुन सक्ने नेताहरूको आकलन छ ।

२०८४ मा कांग्रेससँग गठबन्धन हुँदैन भने उसलाई किन कुरिरहने ? बरु कम्युनिस्टहरूबीच अहिलेदेखि नै सहकार्य गर्ने र तालमेलको आधार किन नबनाउने ? भन्ने प्रश्न माओवादीमा उठ्ने देखिएको छ ।

कोशीमा पटक–पटक धोका पाएपछि माओवादीका प्रभावशाली नेताहरू वर्षमान पुन र जनार्दन शर्मा यो गठबन्धनको निरन्तरताको पक्षमा भैरहनु नपर्ने निष्कर्षमा पुगेका छन् । नेता पुनले कांग्रेससँगको गठबन्धनको औचित्य सकिएको र यसबारे पुनर्विाचार गर्नुपर्ने बताएका छन् ।

पछिल्लोपटक माओवादी, नेकपा एस र जसपासँग मोर्चाबन्दी गरेका नेकपाका महासचिव विप्लवले समेत एमालेसँग मिलेर जान सकिने अभिव्यक्ति दिएका छन् ।

माओवादीका युवा नेता रामप्रसाद सापकोटा दीपशिखाले कांग्रेस महासमितिको बैठकमा भएको गठबन्धनको विरोधपछि चेतावनी नै दिएका छन् ।

‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन् हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले चेतावनी दिएका छन् ।

त्यसै गरी प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले कांग्रेसको बहसप्रति लक्षित गर्दै लेखेका छन् । उनले अब आफ्नै खुट्टामा उँभिने रणनीति तय गर्नु सबैका लागि ठिक हुने र त्यसपछिमात्र अरुका काँधको महत्त्व थाहा हुने लेखेका छन्।

कांग्रेसको प्रस्तावमा गठबन्धनको विरोध भइरहेको, प्रधानमन्त्री र एमाले अध्यक्षबीच भेटघाट भइरहेको बारे कांग्रेस महासमिति बैठकमा समेत समीक्षा भएको छ ।

संयोग मान्नुपर्छ, कांग्रेसमा चुनावी गठबन्धन नगर्ने औपचारिक रुपमा बैठक प्रस्ताव राखेकै दिन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो । शान्ति प्रक्रियाका बाँकी काम र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइए पनि यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।