आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धनका कारण एमालेलाई ठूलो झड्का लाग्ने देखिएको छ । १९ सिटका लागि हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच करिब–करिब सहमति भइसकेको छ । सबै प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक मतभार रहेका कारण एक्लै निर्वाचन लड्दा एमालेले एक सिट पनि जोगाउन मुस्किल हुने स्थिति छ । सुविधाजनक मतभारका कारण पनि विजय सुनिश्चित जस्तै भएकाले निर्वाचनका लागि नेताहरुको दौडधुप सुरु भइसकेको छ । सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न को को लालायित छन् त ?
सबै प्रदेशमा सुविधाजनक मतभार रहेका कारण गठबन्धन दलभित्र थुप्रै नेताहरु राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारको आँकाक्षी देखिएका छन् । मंसिरमा भएको निर्वाचनमा टिकट नपाएका र पराजित भएकाहरु धेरैलाई राष्ट्रिय सभामा लैजाने आश्वासन दिएका कारण कांग्रेसमा उम्मेदवारका आँकाक्षीहरु धेरै छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीबाट कृष्णप्रसाद सिटौला, गण्डकीबाट गोपालमान श्रेष्ठ र मधेशबाट अनिल रुगट्टालाई राष्ट्रिय सभामा ल्याउने तयारी गरिरहेका छन् । त्यस्तै बागमती प्रदेशबाट काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ र कलकार नीर शाहलाई उम्मेदवार बनाउने तयारी देउवाले गरेका छन् ।
कांग्रेसले कर्णाली, लुम्बिनी र सुदुरपश्चिमबाट कसलाई उम्मेदवार बनाउने भनेर अहिलेसम्म कुनै संकेत गरेको छैन । तर लुम्बिनीबाट भरत शाह, कृष्णकिशोर घिमिर आँकाक्षी देखिएका छन् । उता कर्णालीबाट भूपेन्द्रजंग शाहीलाई उम्मेदवार बनाउने पर्ने लविङ सभापति देउवाका विश्वासपात्र जीवनबहादुर शाहीले गरिरहेका छन् । यसैगरि सुदुरपश्चिमबाट डडेल्धुरा जिल्ला सभापति कृष्ण किशोर घिमिरे, केन्द्रीय सदस्यहरु यज्ञराज जोशी र गोविन्दबहादुरले दौडधुप सुरु गरिसकेका छन् । तर कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
यसअघि निर्वाचन नलडेका र मौका नपाएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउन सभापति देउवालाई दबाब दिने निर्णय संस्थापन इतरले गरेको महामन्त्री थापाले बुधवार बताए । यसैगरि नेकपा एकीकृत समाजवादीमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न चाहनेको भीड लागेको छ । उम्मदेवारमा नाम सिफारिसका लागि अध्यक्ष, उपाध्यक्ष र महासचिव लगायतका पदाधिकारीलाई दबाब दिन सुरु भइसकेको छ । एकीकृत समाजवादीमा पार्टी उपाध्यक्ष प्रमेश हमाल नै उम्मेदवारको आँकाक्षी देखिएका छन् । उनको नाममा अध्यक्ष माधव नेपाल सकरात्मक देखिएपनि अन्य पदाधिकारी असन्तुष्ट देखिएका छन् । त्यस्तै अर्का उपाध्यक्ष घनेन्द्र बस्नेत पनि उम्मेदवारको आँकाक्षी हुन् ।
एकीकृत समाजवादीबाट ३० भन्दा बढिले उम्मेदवारीमा सिफारिस गर्न नाम टिपाइ सकेका छन् । निर्वाचनको परिणामपछि पहिलो दल बन्ने माओवादी केन्द्रबाट भने अहिलेसम्म उम्मेदवारका आँकाक्षीहरुको नाम सार्वजनिक भइसकेको छैन ।
निर्वाचनपछि दलीय हैसियतमै फेरबदल ल्याउने भएपछि एमाले तनावमा छ । पहिलो स्थानमा रहेको एमाले सत्ता गठबन्धनको हालको सहमति अनुसार नै निर्वाचनमा होमिए एमालेले सबै सिट गुमाउने निश्चित छ । त्यसैले पनि एमाले अहिले गठबन्धन भत्काउने अनेका उपायहरु खोजिरहेको छ ।
यतिखेर महाकाली मेची अभियानमा व्यस्त एमाले अभियानपछि सम्पुर्ण शक्ति र दाउपेच गठबन्धन भत्काउनमा लगाउने तयारीमा छ ।