स्वास्थ्यकर्मी लिएर भूकम्प प्रभावित क्षेत्रतिर लागे प्रधानमन्त्री प्रचण्ड (तस्विरसहित)
जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको हो ।
विभिन्न जिल्लामा दर्जनौं मानिसहरूको ज्यान गएको छ भने कयौं घरहरू भत्किएका छन् ।
जाजरकोटमा मात्रै दुई दर्जन बढीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै रुकुम पश्चिममा पनि केही व्यक्तिको ज्यान गएको प्रहरीको भनाइ छ । तर, यकिन विवरण भने आइसकेको छैन ।
जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा भूकम्प गएको थियो । शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको ठूलो धक्का महसुश गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।
विभिन्न जिल्लामा भएका क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले क्षतिको यकिन विवरण आइनसकेको बताए । जिल्लामा केही मानिसहरूको ज्यान गएको खबर आए पनि आधिकारीरूपमा पुष्टि गर्ने काम भइरहेको उनले बताए ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन्। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली लिएर प्रचण्ड आफैं भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका हुन्।
प्रचण्डले घाइतेको तत्काल उद्दारका लागि सबै संयन्त्रहरूलाई सक्रिय काम गर्न भनेका छन् ।
घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाएको हेलो सरकारले जानकारी दिएको छ ।
जाजरकोट भुकम्प अपडेट : जाजरकोट र रूकुम पश्चिममा ६० बढीको निधन