नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित
मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात दिवसका सन्दर्भमा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले रासससँगको कुराकानीमा उक्त तथ्य प्रस्तुत गर्नुभएको हो ।
‘हरेक मिनेट महत्वपूर्ण हुन्छ’ नाराका साथ आज नेपालमा पनि मस्तिष्कघातका दिवस मनाउन लागिएको छ । नेपालमा प्रत्येक १० मिनेटमा एक जनामा मस्तिष्कघात हुने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष पौडेलले भन्नुभयो, “मस्तिष्कघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ, मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, त्यसैलाई मस्तिष्कघात भनिन्छ ।”
नेपालमा मस्तिष्कघातको वर्तमान अवस्था र उपचारका लागि गरिने उपायको खोजी गर्न सन् २०१७ मा नेपाल पक्षघात सङ्घ स्थापना गरी विभिन्न कार्यक्रम हुँदै आएको छ । डा पौडेल मस्तिष्कघातको उपचारका लागि अन्तरराष्ट्रिय मापदण्ड तय गरिँदै आएको बताउनुभयो ।
सङ्घले जर्मनीको हाइडलबर्गको युनिभर्सिटी हस्पिटलसँग पक्षघात सहकार्य गर्दै आएको छ । त्यसैगरी, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा मस्तिष्कघातसम्बन्धमा काम गर्दै आएको छ ।





