जाजरकोट भुकम्प अपडेट : जाजरकोट र रूकुम पश्चिममा ६० बढीको निधन
जाजरकोट केन्द्र भएर ६.४ रेक्टर स्केलकाे भुकम्प गएकाे छ ।
गए राती ११:४७ बजे गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरि ६० जना भन्दा बढीको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा जाजरकोटमा ३७ जना र रूकुमपश्चिममा २५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ भने ४० बढी घाइते भएका छन् ।
यसैगरी, भूकम्पको कारण घर भत्किँदा रुकुम पश्चिममा एकै घरका ५ जनाको मृत्यु गएको छ ।
जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर ११ गोईरी सल्लेरी गाउँका स्थानीय शिला सेर्पाली र उहाँका ४ जना छोरीहरुको घर भत्किँदा मृत्यु भएको जनकल्याण मावि गोईरीका प्रधानाध्यापक रतिभान बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार आमा शिलासँगै सुतेका पाँच छोरीहरु मध्ये माईली छोरीको भने जीवितै उद्धार गरिएको छ । क्षतिको थप विवरण आउन भने बाँकी रहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
भूकम्पले आठविसकोट नगरपालिका वडा नम्वर १२ मा र सानीभेरी गाउँपालिका वडा नम्वर ४ मा पनि मानवीय क्षति भएको छ । क्षतिको एकिन विवरण भने प्राप्त हुन बाँकी रहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनु भयो । जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।