विद्यालय शिक्षा विधेयकको मस्यौदा फेरी तयार

मूलखबर संवाददाता
काठमाडौं

शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ ।

सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूचीको प्राथमिकतामा परेको सो विधेयकमाथि प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने तयारीमा मन्त्रालय लागेको छ ।

मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले सरकारले संसद्मा बुझाइएको कार्यतालिका बमोजिम विधेयक तुर्जमाका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मन्त्रीका सल्लाहकार र मन्त्रालयका प्रतिनिधिले यसबीचमा विभिन्न प्रदेशस्तरमा भएका छलफलमा विधेयकबारे सुझाव लिनुभएको छ । संविधानको कार्यान्वयन र सङ्घीयता अनुकूलका लागि विद्यालय शिक्षा क्षेत्रमा यो विधेयक अत्यावश्यक मानिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस आर्थिक वर्षमा कुल १६६ विधेयक पेस गर्ने भनी दिएको सूचीमा विद्यालय शिक्षा विधेयकसहित शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नौ विधेयक रहेका छन् ।

विधायन ऐन, २०८१ अनुसार कानुन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा संसद्मा पेस गरिने विधेयकहरूको सूचीसहित वार्षिक कार्यतालिका असार मसान्तभित्र सङ्घीय संसद्मा पठाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालयहरूसँग गत असार २४ र २५ गते छलफल गरी आगामी यस वर्षका लागि विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको थियो ।