नेकपा कार्यदलले बुझायाे प्रतिवेदन, के छ १४ बुँदे प्रतिवेदनमा ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन सर्वसम्मत तयार भएकाे छ ।
शनिबार कार्यदलका सदस्यहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी गराउनुभयो ।
कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, प्रधानमन्त्रीको राजीनामा बैठकको एजेण्डा नबनाउने, सैद्धान्तिक तथा विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्नेगरी सुझाव दिइएको छ । त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेर मात्रै गर्नेलगायतका कुरा पनि समेटिएको छ ।
त्यस्तै सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डमा हुने प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारको मन्त्रिमण्डल र आवश्यकता अनुसार प्रदेश सरकार हेरफेर गर्ने, कोरोनाको संक्रमण कम भएपछि केन्द्रीय कमिटी बैठक बोलाउने लगाएतका विषयमा प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले जानकारी दिए ।
विभिन्न १४ बुँदामा समेटिएको प्रतिवेदनमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारलाई प्रभाकारी बनाउन पार्टीलाई परिचालन गर्ने, कोभिड–१९ महामारी रोकथामका लागि पार्टी तथा सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा पार्टी केन्द्रीय कमिटीको बैठक कोरोना नियन्त्रणपछि मात्र बस्ने सुझाव कार्यदलले दिएको कार्यदलका एक सदस्यले बताउनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पास नगर्ने, पार्टीबाट आएको सुझावसहित त्यसलाई परिमार्जन गरेर मात्र पारित गर्नेसमेत कार्यदलले सुझाव दिएको छ ।
सरकारले कुनै पनि नियुक्ति गर्दा त्यसबारे पार्टीमा सल्लाह गरेर गर्ने तथा पार्टीको विवाद समाधान गर्ने एक मात्र उपाय महाधिवेशन रहेकाले त्यसको तयारीमा लाग्न पनि सुझाव दिएको कार्यदलका एक सदस्यले जानकारी दिनुुभयो । पार्टीमा देखिएको आन्तरिक विवादको समाधानका लागि महाधिवेशन नै उपयुक्त हुने सुझाव दिएको र चैत मसान्तभित्र त्यसलाई सम्पन्न गर्नुपर्ने ती सदस्यले बताउनुभयो ।
त्यसैगरी असार १० गतेबाट सुरु भएको स्थायी कमिटीको बैठकलाई निरन्तरता दिई त्यहाँबाट आउने सुझावको आधारमा पार्टी तथा सरकारको कार्यलाई सुधार गर्दै अगाडि बढ्न पनि कार्यदलले सुझाव दिएको छ । साथै भारतसँग देखिएको सीमा विवादलाई राजनीति र कूटनीतिक माध्यबाट समाधान गर्न पनि कार्यदलले सुझाव दिएको छ । पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्नुपर्ने कुरामा पनि कार्यदलको प्रतिवेदनले जोड दिएको छ ।
कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शङ्कर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे ।