काठमाडौं उपत्यकामा निषेधाज्ञा : के गर्ने के नगर्ने ? लाै पढाैं !!

मूलखबर संवाददाता
काठमाडौं

काेभिडकाे संक्रमण राेक्न भन्दै भदौ ३ मध्यरातिबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । यस अवस्थामा के गर्न पाईने र नपाईने भन्ने बारेमा जानकारी राख्न याे पढाैं –

अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।

सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ ।

पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून सङ्ख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौँका प्रजिअले बताए ।

अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने । मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अबरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ । आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ ।

अनावश्यक रूपमा र अनुमतिबिना सडकमा निस्केमा पक्राउ गर्ने र जेल हाल्ने सम्मकाे कार्वाही गरिने बताइएको छ ।

स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लंघन गर्छ भने एक महिनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । संक्रामक रोग नियन्त्रण ऐन अनुसार पनि एक महिना कैद र एक सय रुपैयाँ जरिवाना र बाधा विरोध गर्नेलाई ६ महिना कैद र ६ सय रुपैयाँ जरिवाना भनेको छ । त्यसैले अब अलकति कडा खालको सजाय नै हुन्छ ।

दुवै ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्छ ।