यसरी लडिएकाे थियाे जनयुद्वकाे अन्तिम चाैतारा माेर्चा

जानुका धमला

यतिबेला संसार नजरबन्दको अवस्थामा छ । मान्छे कोरोनाको कैदमा छन् । संसारका सबैप्रायः देशका नागरिकमा कोरोना भाइरसको भय छाएको छ । यो भयबीच म स्मृतिका पानाबाट रमाइला तस्वीर खोतलखातल गरिरहेकी छु ।

आज बैसाख १० गतेको राती हो । यो त्यही दिन हो जुन दिन म नेपालको तात्कालीन राज्यसत्ताविरुद्ध माओवादीले उद्घोष गरेको अन्तिम फौजी मोर्चाको तयारीका लागि आफ्नो शस्त्रअस्त्र दुरुस्त राख्ने तयारी गर्दै थिएँ ।

त्यो चौतारा मोर्चा थियो । हामी ठोकर्पा मोर्चाको अस्वाभाविक गतिरोधबाट उठेर नयाँ मोर्चाको तयारीमा थियौं । मोर्चामा सयौं सहयोद्धाहरु थिए । कमाण्डरहरु थिए । म आज पनि तिनका कासन र कमाण्डको सम्झना गरिरहेको छु ।

भेटेको बाटो जति रोमाञ्चक हुन्छ छुटेको बाटो त्यति रमाइलो हुँदैन । काँधमा काँध जुधाएर लडेका केही साथीले ऊबेलै शहादत प्राप्त गरे । आज तिनका परिवारसँग सम्पर्कमा जाँदा भारी भएको मन हलुंगो बनाउने ओखती न मसँग छ न तिनीहरुसँग ।

म गौरव र बलिदानीहरुभित्र ती परिवारसँग वियोगका दृष्य साट्ने साक्षी पनि हूँ आजको दिनमा । तिनका आक्रोश र असन्तुष्टी जति अप्रिय लागे पनि म सुन्छु । चौताराबाट आफ्नो बाटो लाग्दै गर्दा शहादत प्राप्त गरेका सहयोद्धाहरुको सम्झना छ मनभरी ।

पुराना युद्धहरुको सम्झना मिठो हुन्छ । अझ, सँगै लडेका सहयोद्धाहरुको चासो पनि उस्तै मिठो हुन्छ । सपना, विपना र जिन्दगानीका गीतहरु यस्तै हुन्, व्यक्तिपिच्छे फरक हुन्छ । तर, विगतको गर्त उधिनेर स्मृतिमा रमाउनुको आनन्द पनि त अर्कै हुन्छ ।

त्यसैले कोरोनाको कहरलाई म पुरानो सम्बन्ध नवीकरण गर्ने बहाना बनाइरहेको छु । कोरोनाको महाब्याधीमा मान्छे भौतिक दूरी कायम गर्न अभिषप्त छन्, म बर्गीय र मनको पुरानो दूरीलाई केही नजिक ल्याउने अभ्यासमा छु ।

माओवादी जनयुद्धमा म चानचुन ५० वटा फौजी मोर्चाको साक्षी हू । हरेक मोर्चाको आफ्नै र अलग महत्व छन् । हरेक मोर्चामा अलग अनुभव र अनुभूति छन् । आज चाँहि म सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मोर्चा उधिन्दै छु ।

किनकि त्यो मैले लडेको अन्तिम मोर्चावद्ध युद्ध थियो । त्यसपछि मैले फौजी होइन जीवनकै लडाईका मोर्चामा आफूलाई उभ्याउनु पर्यो । युद्ध जित्दाजित्दै राजनीति हारेको छामापार झैं कहिले अयोग्य हुन्छु कि भन्ने लडाईमा, कहिले योग्य पो हुन्न कि भन्ने लडाईमा । कहिले युद्धबाट उठेर ठालु भएका कमाण्डरहरु विरुद्धको लडाईमा, कहिले सबै हतियार डम्पिंग भएपछि शिविरभित्रै सिध्याइन्छु कि भन्ने लडाईमा ।

यो लड्नुको नियतिबीच म पनि अहिले कोरोना भाइरसविरुद्धको लडाईमा छु । यही लडाईको बीचबाट सम्झिरहेको हूँ चौतारा मोर्चा जसले जनयुद्धको उचाईलाई कायम राख्दै जनमुक्ति सेना हारेर होइन जित्दाजित्दैको अवस्थामा सम्झौतामा गएको हो भन्ने देखायो ।

यसैले यो कोरोनाको परिबन्दका बीच म मेरा केही पूर्व कमाण्डर र सहयोद्धासँगको संवादलाई उनीहरुको अनुमतिमा उल्लेख गर्ने प्रयास गर्दैछु ।

ऋखेश्वर बुढामगर (क.सविन)

मेरा कमाण्डर हुन् ऋखेश्वर बुढामगर (क.सविन) । पदीय जिम्मेवारीमा बिग्रेड कमाण्डर हुन् उनी मेरा लागि । बुढामगर कोभिड १९ बाट बच्न र सामाजिक जनचेतनाको लागि अहिले गृहजिल्ला रोल्पामा छन् । गाउँमा सामाजिक चेतना बढाउन सामूहिक पहल र सहभागिता आवश्यक परेको हँुदा कोरोना भाइरस (कोभिड)बाट समाजलाई सुरक्षित राख्न सामाजिक अभियन्ता झैं गाउँमै सक्रिय छन् ।)

१४ बर्षअघिको चौतारा मोर्चाको सम्झना उनीसँग पनि उस्तै छ अहिले । बुढामगरको सम्झनामा ‘निकै प्रतिअनुकूल परिस्थितिको बीचमा तय भएको युद्धमोर्चा हो चौतारा ।’ ‘सडकमा राजनीतिक दलहरुको आन्दोलनको प्रभाव परेर पनि होला हामीले रेकि गरेर फर्किएपछि उनीहरुले फौजी फोर्टिफिकेसन झन् बलियो बनाएका रहेछन् । उनीहरुले आक्रमणभन्दा प्रतिरक्षामा जोड दिएका रहेछन् । उनीहरुलाई माओवादी हमला हुन्छ भन्ने कुरा राम्रैसँग थाहा थियो । किनकी उनीहरुकै क्षेत्रमा प्रायः नयाँ अनुहारका मानिसहरुको चहलपहल केही दिनदेखि निकै थियो ।’

हिजो र आजको अनुभव हामीसँग जस्तै हाम्रा कमाण्डरहरुसँग पनि छ । उनी भन्छन्, ‘हुन त यो सरकारको पनि सबै निकायले काम गरिराखेको नै छ तर परिणाम सोचेजस्तो भएको छैन । जनताले धेरै दुःख पाएका छन् । सडकमा रहेका मजदुरहरुको उचित ब्यवस्थापन हुन सकिरहेको छैन ।’

गोबिन्द बहादुर बटाला (क जीवित)

कमरेड जीवित उपनामले चिनिने गोविन्दबहादुर बटाला पनि ऊ बेलाका व्रिगेड कमाण्डर हुन् जसले साहसिक चौतारा मोर्चामा आफ्नो बहादुरीपूर्ण भूमिका निभाए । उनी पनि अहिले काठमाण्डौ बसेर सरकारको कोभिड १९ विरुद्धको अभियानलाई नजिकबाट सहयोग गरिरहेका छन् ।

कोरोनाको सन्दर्भमा हाम्रा भूपू कमाण्डरको आफ्नै भनाई छ । बटाला भन्छन्, ‘हामीसँग प्रशस्त समय थियो तर त्यो अवसरलाई हामीले दिर्घकालीन नीति बनाएर कडाईका साथ लागू गर्न सकेनौं कि भन्ने हो । माहामारी फैलिसकेपछि मात्रै यसको समाधान खोज्ने त्रुटी भयो । यसकारण सर्वसाधारण, निम्न आयश्रोत भएका र दैनिक ज्यालादारी गरेर खानेहरुका लागि समस्या भयो ।’

बटालालाई अझ पनि लाग्छ उनीहरुको समस्यालाई सम्बोधन गर्ने दायित्व राज्यकै हो । सरकारकै हो । उनीहरु पनि यही राज्यको नागरिक भएको हैसियतले चुनाबको बेलामा मात्रै होइन दुःखको बेलामा पनि राज्यले आफनो दायित्व पूरा गर्नपर्छ । त्यसका लागि बटाला ‘आफ्नो स्थानबाट गर्नपर्ने काम गरिरहेको र राज्य वा सरकारलाइ यी र यस्ता विषयमा मैले पनि उत्तिकै खवरदारी गरिरहेको’ बताउँदछन् ।

डम्बर बहादुर थामी (अनुपम) व्रिगेड सहकमाण्डर

तत्कालिन वेथान स्मृति व्रिगेडको कार्यालय सचिव थिए डम्बरबहादुर थामी अर्थात् कमरेड अनुपम ।

पछिल्लो १४ बर्ष थामीले अनुभवको पहाड संकलन गरेका छन् । युद्धकालका जर्जर दिन त भइहाले शान्तिपूर्ण राजनीतिमा बिद्रोही ओर्लिएपछि पनि थामीका जिन्दगीका श्रम र पसिनासँगको पुरानो सम्बन्ध उस्तै राखेको छ । देशबाहिर श्रम बेच्न अभिषप्त थामी युद्धका मोर्चा जित्दै जाँदा जिन्दगीका मोर्चाहरु हार्दै गएको अनुभूतिजन्य पृष्ठमा समेटिएका छन् । कोरोनाको कहरबीच भेट हुँदा थामीले बयान गरेका अनुभव मिठो छैन । थामी सचेत गराउँदै भन्छन्, ‘जो लडियो लडियो तर, सच्चा र इमान्दर व्यक्तिहरुलाई नेपालमा अझै गणतन्त्र आएको छैन है ।’

थामीको धुलिखेल कारागार र चौतारा मोर्चाको लामो सम्झना म अर्कै पाटोमा उल्लेख गर्छु ।

हामीमध्ये धेरै सहयोद्धा विदेशमा छन् । कोही देशमै खेतीमूलो गरिरहेका छन् । केही सेना समायोजनको प्रक्रियामार्फत नेपाली सेनामा विभिन्न पदीय दायित्व निर्वाह गरिरहेका छन् ।

नेपाली सेनामा मायोजन हुनेहरुलाई बोल्न सजिलो छैन । आजको भोली उपल्ला हाकिमहरुले कोर्ट मार्शलमा लैजाने हुन् कि भन्ने भय हुन्छ पूर्व लडाकूबाट सैनिक अधिकृत भएकाहरुलाई ।

साथीको हैसियतमा सम्पर्कमा आएका काभ्रे घर भएका योद्धा हुन् उनी । माओवादी लडाकूको शक्तिखोर शिविरमा हामी सँगै थियो । हाल नेपाली सेनाको छाउनीमा अधिकृत तहमा कार्यरत हाम्रा अर्का कमाण्डरको अनुभव उनको नामविना नै लेख्नपर्दा म पटक्कै खुसी छैन ।

उनी सम्झन्छन्, ‘त्यो जीबनको छुट्टै वीरता थियो जुनबेला हाम्रो लक्ष्य र उद्देश्य वर्गविहिन समाज थियो । साम्यबादको स्थापनार्थ सर्वहारा वर्गको मुतिmको लागि जीवन हत्केलामा राखेर युद्धमोर्चामा होमिएका थियौ हामी । साथमा क्रान्तिकारी विचार मालेमावादी दर्शन थियो ।’ उनी थप्छन्, ‘अहिले अवस्था त्यस्तो छैन । नेपाली सेनामा समायोजन भएपछि राष्ट्रीय सेनाको रुपमा नेपाल सरकारको नीति निर्देशनमा रहेर राष्ट्र र राष्ट्रियता केन्द्रमा हुने गरेको छ ।’

चौतारा मोर्चाको मुख्य ग्रुपमा रहेर टावर कब्जा गर्ने समूहमा रहेका उनका पनि कमाण्डर पनि उनै बटाला (जीवित) र विकल्प थिए । १४ बर्ष अगाडिको त्यो इतिहास र आफूले लडेको युद्धप्रति उनले ‘खुशी रहेको र आफ्नो विगतप्रति सधैं गर्व गर्ने’ बताए ।

बर्गविहीन समाजको परिकल्पना लिएर युद्धका मोर्चामा हिंड्ने क्रान्तिकारीले कहिल्यै सेनामा समायोजनको वा सैनिक अधिकृतको सपना नदेखेको बताउने उनले जनयुद्धको मर्म र धर्म दुबैमा पुगेको आघातले आफू भित्रभित्र घाइते भइरहने बताए । तात्कालीन सेना पार्टी हुँदै आफूले लडेको युद्धको औचित्यमाथि नै प्रश्न उठाउने प्रवृत्तिविरुद्ध उनको आफ्नै असन्तुष्टी थियो ।

‘मलाई नेतुत्व गर्ने पार्टी आआफनो स्वार्थमा लागेर बिभाजन हुदैं आफनो अस्तित्वलाई एमालेसँग साट्ने वा अस्तित्व नै बुझाउने तहमा लागे’ उनको आक्रोशका अभिव्यक्ति आजका लागि यत्ति नै ।

लिला ब्लोन (सूचना) बटालियन सहकमाण्डर

मसँगैका अर्का कमाण्डर थिइन् लिला ब्लोन । हामी उनलाई कमरेड सूचना नामले चिन्दथ्यौं । बटालियन सहकमाण्डर ब्लोन चौतारा मोर्चाका घाइते पनि हुन् ।

उनको अनुभवमा चौतारा मोर्चा ‘मोर्चाबद्ध लडाईका लागि चौतारा लडाई पहिलो अनुभव थियो तर म अर्का जिम्मेवार कमाण्डर सविनसँगै ब्यारेक ब्लक गर्ने एलएमजी समूहमा थिएँ ।’ उनका लागि चोतारा मोर्चा किन पनि उत्साहजनक थियो भने उनले दुश्मनको छाती ताकेर एसएलआर राइफलको गोली पटकपटक निशाना लगाइन् । उपत्यका .वरिपरी छापामार मोर्चाहरुमा सहभागि भएकोले मोर्चावद्ध लडाईको त्यो स्वाद अहिले पनि लिलालाई छ । उनका लागि अफसोच के भयो भने चौतारा मोर्चा नै मोर्चावद्ध युद्धको पहिलो र अन्तिम युद्ध भइदियो ।

ब्लोन नुवाकोटे हुन् । अहिले कोरोनाको महामारीबाट अलिक टाढा पञ्चकन्यामा छिन् । गाउँमा अरुसँग कोरोना भाइरसविरुद्ध चिनेजानेकालाई सचेत गराउँदै छिन् । युद्धकालका पुराना दिन छुट्याउँदै खुट्याउँदै स्मृति संगाल्दै हराउन उनलाई त्यति मिठो लाग्दैन ।

सीता ढकाल (श्रुटी) बटालियन सह कमाण्डर

तात्कालीन बटालियन सहकमाण्डर ढकाललाई चौतारा मोर्चा नै जनयुद्धको अन्तिम मोर्चा हुनसक्छ भन्ने पर्याप्त संकेत थियो । राजनीतिक दलहरुले सडकबाट र जनमुक्ति सेनाले युद्धको मोर्चाबाट धक्क दिंदा तात्कालीन सत्ता धेरै दिन दमनमा उत्रन सक्दैन नै भन्ने पर्याप्त अनुमान थियो उनीसँग ।

कोरोनाले चितवन जिल्लालाई पनि उत्तिकै त्रसित बनाएको छ । त्यसैले ढकाल निम्न आए भएका, ज्याला मजदुरी गरि खानेका लागि राहत संकलन र बितरणमा ब्यस्त छिन् ।

ज्ञानु तामाङ्ग अनिता (शहीदपत्नी)

कीरण लामा (जीवन्त) ले चौतारा मोर्चामा जनमुक्ति सेनाको तर्फबाट प्रकाश छरे । तर, शहीद भएर । जनयुद्धको अन्तिम तर निर्णायक मोर्चामा बलिदानी दिने कीरण अर्का साहसी तर अभागी योद्धा हुन् जसले एक महिनापछि आउँदै गरेको आफ्नो पछिल्लो सन्तानको अधर चुम्बन गर्न पाएनन् ।

त्यसैले कीरणपत्नी अनिता त्यो दिनलाई सम्झने साहस अहिले पनि जुटाउन सक्दिनन् ।

‘मेरो पेटमा बच्चा आठ महिनाको बच्चा थियो । लडाईको अघिल्लो दिन मात्र उसले त्यो युद्ध जितेर म र बच्चालाई भेट्न आउने वाचा गरेको थियो’ अनिताले युद्धअघिको साँझ सम्झिइन् ।

‘त्यो युद्ध थियो र मसँग युद्धको नियम स्वीकार गर्नुको कुनै विकल्प थिएन’ छापामारकी श्रीमतीको भावमा अनिता बोल्दै गइन्–अहिले बुझ्दैछु युद्ध सुनौलो बिहानीको कल्पना बोकेर चिहान सजाउने अत्यन्त निर्मम र क्रूर अध्याय रहेछ ।‘

कीरणले लडेको युद्धले देशमा उज्यालो त लिएर आयो तर अनिताको जीवनबाट खोसेको खुसी फर्किएर आएको छैन ।

त्यो बेला पेटमा रहेको अनिता कीरणको छोरा जीवनशील अहिले १४ वर्षको हुदै छ । कीरणका सपनाका थातहरुलाई एकापट्टि राखेर अनिता अहिले जीवनशीललाई असल मान्छे बनाउने अभियानमा छिन् ।

(पुरुषोत्तम लम्सालको सहयोगमा)