चंगा उडाउने रहरले पहिलो महिला क्याप्टेन बनीन् सोनी राणा

sony ranaआकाशमा चराजस्तै स्वच्छन्दरुपमा उड्ने रहर नहुने सायदै कोही होला । यो रहर पूरा गर्नेहरु भने कमै हुन्छन् । झन् रेकर्ड राख्नेहरु त एकाधमात्रै हुने गर्दछन् । सोनी राणा यस्तो अपवाद हुन् जसले नेपालको हवाइ उडान इतिहासमा कीर्तिमानको चाङ लगाइदिएकी छन् ।
सोनी राणाको जन्म विक्रम सम्बत २०२२ सालमा भएको हो । कात्तिक महिनामा लक्ष्मी पूजाको दिन ओमनरसिंह राणा र कञ्चन राणाको पहिलो सन्तानको रुपमा सोनी राणाको जन्म भएको थियो । आमाबुबाले सोनी र भाइलाई समान अवसर प्रदान गर्नुभयो । छोराछोरीका बीचमा कुनै विभेद हुदैनथ्यो सोनीको परिवारमा । सोनीले छोरी भएकै कारण पछि परेको अनुभव परिवारमा गर्नु परेन । सोनीको बाल्यकाल ठमेलस्थित नरसिंह क्याम्पमा बित्यो । नेपालमा पर्यटन व्यवसाय फष्टाउंदै गरेको समयमा ठमेलको चहलपहल बढ्दो थियो । ठमेलको चहलपहलले सोनीको मनमा देशविदेशको बारेमा सोच आइरहन्थ्यो ।
सोनी र बुबा ओमका बीचमा अत्यन्त मित्रवत् सम्बन्ध थियो । सोनीले आफ्ना कुनैपनि समस्या बुबासंग खुलेर व्यक्त गर्न सक्ने वातावरण थियो । आमा कञ्चनले कक्षा १० सम्ममात्र पढ्नुभएको थियो । त्यसैले आमाले छोरीलाई धेरै पढाउने धोको राख्नुभएको थियो ।
सोनीले सबैभन्दा पहिले बोलेको शब्द ‘काइट’ रहेछ । चंगा उडाउनु फेसनजस्तो बनेको बेलामा आकाशमा उडिरहने चंगाले सोनीलाई बोलि नफुट्दै आर्कर्षित गरेको हुनुपर्छ । संयोगपनि कस्तो उनी चंगाजस्तै जीबनको महत्वपूर्ण समय आकाशमै उडेर बिताउने पेशामा संलग्न भइन । उनको पहिलो शब्दले उनको पेशा भविश्यवाणी गरेको रहेछ । आमाबुबा यसै भन्नु हुन्छ । नेपालको पहिलो व्यवसायिक महिलाको रुपमा राष्ट्रिय इतिहास रचेकी सोनीले उडानका क्षेत्रमा थुप्रै रेर्कड कायम गरेकी छन् ।
सोनीले पाइलटसम्बन्धी तालिम र अध्ययन अमेरिकामा गरेकी हुन् । सन् १९८७ मा उनी पाइलटसम्बन्धी अध्ययनका लागि अमेरिका पुगिन् । अमेरिका प्रश्थान गर्दा परिवारमा भिन्दै उत्साह थियो । अधिकांश महिलाहरु चुल्होचौकोमा सीमित भइरहेको परिदृश्यमा एउटी नेपाली महिला जाहाज उढाउने सपनासहित अमेरिकातर्फ उढेकी थिइन् ।
अमेरिकामा पाइलटसम्बन्धी पढाइ सकेर फर्किएको २ वर्ष पछि उनले तत्कालिन शाही नेपाली वायुसेवा निगममा जागिर खान शुरु गरिन् । तीन जना पाइलट मागेकोमा १० जना प्रतिष्प्रर्धी थिए । आवेदक दुई जना महिला रक्षा राणा र सोनी राणा मध्ये सोनीको नाम छनौट भएपछि सोनीले पहिलो व्यवसायिक नेपाली महिला पाइलट हुने सौभाग्य प्राप्त गरिन् । सोनी राणाले व्यवसायिक उडान गरेको दुई वर्षपछि नेपालको पहिलो नीजि एअरलाइन्सको रुपमा एभरेष्ट एअरलाइन्स खुल्यो । यही एअरलाइन्समार्फत रक्षा राणाले आफ्नो व्यवसायिक उडान गरेकी हुन् ।

sony rana 2
सोनीले विमान चालकको रुपमा व्यवसायिक यात्रा थाल्दा उनी आफ्नो पेशामा एक्ली महिला थिइन् । सबै केटा सहकर्मीका बीचमा सोनी एक्ली महिला पात्र थिइन् । कहिलेकाहीं उनी हांसको बीचमा बकुल्लोजस्तो बन्थिन त कहिलेकाही सबैको आर्कषण । नेपालका दुर्गम जिल्लाका विमानस्थलमा हवाइजहाज अवतरण गर्दा उनलाई हेर्नेको भीड लाग्दथ्यो । ‘केटी’ले हवाइजहाज चलाएकी भन्दा सबैले अनौठो मान्थे । कत्तिले जिब्रो काट्दथे र हवाइमैदानमा उनलाई हेर्न लाग्ने भीडले उनलाई सधैं पेशाप्रति दत्तचित्त हुन प्रेरणा दिइरहन्थ्यो । काठमाडौं विमानस्थलमा समेत ‘लेडी पाइलट’का रुपमा उनको चर्चा भइरहन्थ्यो । यात्रुसमेत रमाइलो मान्थे ।
यात्रु र सर्वसाधरणले केटी र लेडी पाइलटका रुपमा उनलाई चाखपूर्वक हिसावले हेरेपनि विमानको प्रविधिले केटा र केटी पाइलट भनेर विभेद गर्दैनथ्यो । विमान चलाउनका लागि विशेष सिप चाइन्छ नकी कुनै पुरुष वा महिला । उनले पुरुष पाइलटसंग प्रतिस्पर्धा र सहयात्रा गर्न सकिन् । हरेक तालिम र उडानमा अब्बल दरिइन ।
व्यवसायको शुरुवात उनले को–पाइलटका रुपमा गरेकी थिइन् ।  अनुभव र ज्ञानले खारिएकी सोनी अहिले बोइङ–७५७ को कम्माण्डर बन्न सफल भएकी छन् । धानको बालासहितको टोपीमा क्याप्टेनको भुमिका निर्वाह गर्न पाऊंदा उनले अतिनै भाग्यमानी महशुस गरेको बताउंछिन् । चौविस वर्ष यता उनी निरन्तर अकाशमा उडिरहेकी छन् । उनले उडान भर्दा नेपालका दुरदराजको एकमात्र यातायातका रुपमा हवाइजहाज रहेको थियो । उनले नेपालका सबैजसो ठाउमा उडान भरेकी छन् । नेपालको हिमश्रृंखला, पाखापखेरा, जलजङ्गल, प्राकृतिक सौन्र्दय र मानिसहरुको निष्कपट व्यवहार उनको मनमा गजबले गढेको छ । अहिले उनी अन्तराष्ट्रिय उडान गर्छिन् । नेपालका पाखा पखेरा र दूरदराजका नेपालीसंग विगतजस्तो दैनिक उनको सम्र्पक हुंदैन । तर दूरदराजका युवाहरु उनले उडाउने अन्तराष्ट्रिय विमानमार्फत विदेशी भुमीमा जाने गर्दछन् । अन्तराष्ट्रिय क्षेत्रमा नाम कमाउने युवाहरु उत्पादन भएको सन्र्दभले उनलाई खुशी बनाउदछ । अर्कोतर्फ शारिरीक कामका लागि बिदेशीन बाध्य युवाको भीडले उनको चित्त दुखाउछ ।
सोनीले व्यवसायिक दौरानका क्रममा थुप्रै चुनौति र अवसरसंग साक्षात्कार गरेकी छन् । उनी प्रबल गोरखा दक्षिणबाहु चौथो बाट सन् १९९३ मा सम्मानित भएकी थिइन । नेपालको पहिलो व्यवसायिक महिला क्याप्टेनका रुपमा उनी अन्तराष्ट्रिय महिला क्याप्टेन संघका तर्फबाट सम्मानित भएकी छन् । सोनी अन्तराष्ट्रिय महिला क्याप्टेन संघ तथा नाइन्स् पाइलट संघको सदस्य छिन् । उनले विमान चालकसम्बन्धी विभिन्न अन्तराष्ट्रिय गोष्ठि, सम्मेलन र तालिममा सक्रिय सहभागिता जनाइसकेकी छन् । उनले नेपालको उडड्यन इतिहासमा थुप्रै किर्तिमान रचेकी छन् । उनी नेपालको नागरिक उड्ड्यन प्राधिकरणबाट विमान चालक अनुमतिपत्र (पाइलट लाइसेन्स) लिने पहिलो महिला हुन् । सोनी ट्विनटर विमान उडाउने पहिलो नेपाली महिला पाइलट हुन् । सोनी कर्मर्सियल पाइलट लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला हुन् । उनी एअरलाइन्स् ट्रान्सपोर्ट पाइलट लाइसेन्स लिने पहिलो नेपाली महिला हुन् । उनी पहिलो नेपाली महिला  क्याप्टेन हुन् । उनी उडान क्षेत्रका विभिन्न विधामा पहिलो नेपाली महिला बन्न सफल भएकी छन् । उनी आफ्नो सफलताको श्रेय आमाबुबालाई दिने गर्छिन । उनको विवाह स्वर्गीय क्याप्टेन विजय गिरीका साथ भएको थियो । व्यवसायिक यात्राका क्रममा विजयसंग सोनीको भेट भएको थियो । सोनीकी १३ वर्षकी एकमात्र छोरी छन् । जीबनमा विछोड र संयोगको अनौठो लुकामारी सोनीले भोगेकी छन् । संर्घषका घुम्तीहरुलाई सफलतापूर्वक पार गरेकी सोनीका लागि कर्म नै धर्म बनेको छ । उनका लागि यात्रा शुरु भएको मात्र हो, सकिएको छैन । केही गरिएको हो तर अझैं धेरै गर्न बांकी छ । आफनो कर्मका कारण आज सोनी लाखौं महिलाहरुका लागि गर्व र प्रेरणाको पात्र बनेकी छिन् । अत्यन्तै हक्कि स्वभाबकी सोनीले जिवनमा निक्कै उतार चढाब भोगेकी छिन् । आर्थिक हिसाबले सम्पन्न परिवारमा जन्मिएकाले सोनीले बाल्यकाल देखी आफनो क्यारियर विकासको चरण सम्म पनि आर्थिक अभाबको सामना गर्नु परेन तर यस पेशामा टिकिरहन र आफुलाई अब्बल साबित गर्नका लागि भने उनले निक्कै  संघर्ष गर्नु परयो । कडा परिश्रम र  पेशा प्रतिको लगाब कै कारण आज उनी एक सफल क्याप्टेन बन्न सफल भएकी छिन् ।  सोनीले यही पेशालाई आफ्नो कर्म बनाइन् , यसैमा रमाइन र यसै पेशालाई लक्ष्य बनाइन उडान पेशाबाट उनले आफनो पहिचान र  खुशि दुवै पाइन तर खुशि संगसंगै उनले यहि पेशामा कार्यरत आफनो श्रीमान क्याप्टेन विजय गिरिलाई पनि हवाई दुर्घटनामा गुमाउन पुगिन । उनको जिवनको सबै भन्दा दुखको क्षण थियो त्यो तर उनले आफुले आफैलाई सम्हालिन र आकाश कै उडानमा निरन्तर उडान भरिरहेकी छिन् । आज सोनी राणा आफनै कर्मका कारण देशकै इज्जत र प्रतिष्ठा बनेकी छन् । – नारायण पौडेल