संसदको समितिमा पुगेर जेष्ठ नागरिकले राखे यस्ता गम्भीर माग

काठमाडौं, १३ असार ।

जेष्ठ नागरिकले भोगथेका पीडा कम गर्न तथा उनीहरुको स्याहार सुसार र पालनपोषणमा देखिएका समस्या समाधान गर्न सरकारले नयाँ विधेयक ल्याउन लागेपछि जेष्ठ नागरिकहरुले त्यसमा गम्भीर माग राखेका छन् ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै जेष्ठ नागरिकहरुले स्वेच्छीक मरण देखि हेलाँ गर्ने छोराछोरीलाई कडा कार्वाहीको कानुन ल्याउन माग समेत गरेका छन् ।

वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नु भएको हो ।
सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भिर भईदिन पनि उहाँको सरकारसँग विशेष अनुरोध छ ।
वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो । त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उहाँको भनाई छ ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमा नै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गर्नुभयो । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजायाँ दिने प्रावधान राखिएको छ ।