
गभर्नरमा पाैडेलकाे चर्चापछि छनाैट समितिबाट राजिनामा, जाेगिएला त गठबन्धन ?
राष्ट्र बैंककाे गभर्नर पद खाली भएको वर्ष वित्न लागिसक्याे । अझै पनि गभर्नरकाे विषयमा अन्याैल छ ।
दुई ठूला दल मिलेर बनेकाे सरकारले बैंकहरूकाे नियमन, नियन्त्रण र राष्ट्रकै आर्थिक नीति निर्माणकाे महत्त्वपूर्ण थलाे राष्ट्र बैंकमा नेतृत्व चयन गर्न नसक्नुले सरकारकाे क्षमतामाथि प्रश्न चिन्ह उठिरहेको छ ।
यस बीचमा गभर्नरको विषयमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ठुलाे रस्साकसी र विवाद समेत सतहमा आए ।
दलका प्रमुख नेताहरू, सांसदहरू नै सार्वजनिक रूपमा बाेल्न थाले । कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री विचाैलियाकाे चंगुल र याेजनामा चलेकाे सार्वजनिक अभिव्यक्ति दिए ।
अहिले पछिल्लो अवधिमा गभर्नरको विषयमा सहमति हुन लागेपछि ति कुरा हराउँदै गएका छन् । अब करिबकरिब कांग्रेसले गभर्नर पाउने सहमति भयाे र सरकार तथा गठबन्धन जाेगिन लाग्याे भन्ने देखिएकाे छ ।
गठबन्धन नै धरापमा पार्ने पद गभर्नरमा काे आउला त भन्ने विषय पनि अनाैपचारिक रूपमा टुंगिएको हल्लाका बीच गभर्नर समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिने भएका छन्।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमतिभएसँगै उनले समितिबाट राजीनामा दिन लागेका हुन्।
उनले यसबारे मौखिक रूपमा अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको बताएका छन्।
यद्यपि लिखित राजीनामा भने सोमबार कार्यालय समयपछि मन्त्रालयमा बुझाउने तयारी रहेको उनले बताए।
‘सिफारिस भएको मान्छेले त राजीनामा दिनै पर्यो। भोलि कार्यालय समयमा राजीनामा पत्र बुझाउने छु,’ उनले भने।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्न राजीनामा दिएका थिए।