भारत-पाक युद्वले नेपालकाे अन्तर्राष्ट्रिय उडान प्रभावित

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख

भारत र पाकिस्तानबीच हवाई माध्यमबाट युद्व शुरू भएपछि नेपालका अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । धेरैजसाे उडानहरू भारत र पाकिस्तानकाे आकाशकाे रूट भएर हुने गरेकोमा युद्वले प्रत्यक्ष असर परेको हाे ।

युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदीअरब लगायतका मुलुकका सहरबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

‘टर्की र मध्यपूर्वी मुलुकहरुबाट नेपाल आउने उडान कम्तीमा १ घण्टादेखि बढीमा २ घण्टासम्म ढिलो भइरहेका छन्’, विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भने,‘टर्कीको इस्तानबुलबाट काठमाडौं आउने टर्किस एयरलायन्सको जहाजले नेपाल आउँदा १ घण्टा बढी समय लगाउन थालेको छ भने काठमाडौंबाट फर्किँदा झण्डै २ घन्टा बढी सयम लगाउन थालेको छ ।’ त्यस्तै मध्यपुर्वी मुलुकहरु कतार, दुबई, साउदी अरब, कुवेतबाट नेपाल आउजाउ गर्ने वायुसेवाहरुका उडान १ घन्टा बढी उडान समय लगाउन थालेका छन् ।

हाल मध्यपूर्वबाट नेपालमा कतार एयरवेजले कतारबाट, फ्लाई दुबईले दुबई, जजीरा र कुवेत एयरवेजले कुवेत, एयर अरेयिबायले शारजहा र दुबईबाट नेपालमा उडान गर्दै आइरहेका छन् । त्यस्तै नेपालबाट हिमालय एयरलायन्सले साउदी अरब, दोहा, कुबेत र नेपाल वायुसेवा निगमले दोहा, दुबई र साउदी अरबको दमाममा उडान गर्छन् । यी वायुसेवाले पहिले इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रुट प्रयोग गर्थे । नेपाल आहोरदोहोर गर्न यो रुट छोटो थियो । तर भारतले पाकिस्तानमा आक्रमण गरेपछि विमान कम्पनीहरु कतारबाट दुबई, ओमन हुँदै अरवियन सागरको बाटो हुँदै भारतको मुम्बई हुँदै नेपाल आउने/जाने गर्न थालेका छन् । यो झण्डै एक घण्टा लामो हवाई रुट हो । नेपालबाट फर्किने जहाजहरु दिल्ली हुँदै पाकिस्तानको आकाश प्रवेश गर्नुनपर्ने भएपछि भैरहवाको हवाई रुटबाट ननिस्केर सिमराबाट निस्केर लखनउ हुँदै मुम्बईको आकाशबाट अरबियन सागरतर्फको हवाई रुटमा उड्न थालेका छन् ।