पुनः नापीले झन समस्यामा अछामवासी
अछाम, ९ वैशाख ।
अछाममा भइरहेको विशेष नापी अर्थात् पुनः नापीका कारण जनताले दुःख खेपिरहेका छन् ।
अछाममा सञ्चालन भएको पुनः नापीकरणले जनताले सासती खेप्नुपरेको हो । जिल्ला नापी कार्यालयले जिल्लामा गरिरहेको पुननापीमा नापी टोलीले मनोमानी ढङ्गले नापजाँच गरेको र आफ्नो जग्गाको जग्गाधनी प्रमाणपुर्जा लिन महिनाँै धाउँदा समेत नपाएको गुनासो जनताले गरेका छन् ।
माष्टामान्डौँ, भैरवस्थान, हात्तीकोट, मङ्गलसैन, जुपु, वलीगाउँ, कुन्तिबण्डाली, जनालीबण्डाली, सेरा, वीरपथ, ठाटी, विनायक लगायतका गाविसमा पुननापी गरिएको छ ।
आफ्नो जग्गा नापी भएको दुई वर्ष बित्दा पनि आफूले जग्गाधनी प्रमाणपुर्जा लिन नसकेको जिल्लाको दुर्गम भैरवस्थान गाविसका तपेन्द्र बिसीले बताए ।
“आफ्नो जग्गा नापी गराएको र दर्ताका लागि सम्बन्धित नापी टोलीमा गएर सबै कागजात बुझाउँदासमेत आफ्नो जग्गाधनी प्रमाणपुर्जा लिन जाँदा कहिले यता कहिले उता भनेर आफूले पुर्जा नपाएको र हाल पुर्जा लिनका लागि जिल्ला मालपोत कार्यालयलाई सबै कामको जिम्मा लगाएको रहेछ । फेरि नयाँ कागजपत्र चाहिने रहेछ । विशेष नापीले मलाई धोका दियो”, मङ्गलसैन नगरपालिका–६ का ६५ वर्षीया सिद्धराज भण्डारीले दुखेसो पोखे ।
विशेष नापीको लापरबाहीका कारण कतिपय जग्गाधनीको प्रमाणपुर्जामा आफ्नो पूरै क्षेत्रफल नआउने, एक व्यक्तिको जग्गा अर्को व्यक्तिको नाममा जाने कसैकसैको जग्गा नै नहुने लगायतका समस्या देखा परेका छन् ।
विशेष नापी कार्यालय अछामले जिल्लाका २१ गाविसको नापजाँचको काम सम्पन्न गरी जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिसकेको र अन्य कामका लागि जिल्ला मालपोत कार्यालयलाई जिम्मा लगाइएको जनाएको छ ।
२०५८ सालमा तत्कालीन नेकपा ९माओवादी०ले अछाम जिल्ला को मंगलसेन आक्रमण गरेका बेला जिल्ला मालपोत कार्यालय र नापी कार्यालयलगायत जिल्ला नै ध्वस्त हुँदा मालपोतसम्बन्धी सबै कागजात जलेर नष्ट भएपछि २०६३ सालदेखि अछाममा विशेष नापी कार्यालय स्थापना गरी पुनः नापीको काम थालनी गरिएको थियो ।